कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गर्यो
काठमाडौँ । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ। विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्ने विषयमा पार्टीभित्र मतभेद चर्किरहेका बेला सोमबार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्ने गरी आह्वान गरिएको हो।
३७ सदस्यीय केन्द्रीय कार्यसम्पादन समितिमा पार्टीका पदाधिकारी, पूर्वपदाधिकारी तथा वरिष्ठ केन्द्रीय सदस्यहरू सहभागी हुने व्यवस्था छ।
यसैबीच, नेपाली कांग्रेसको १५औँ महाधिवेशन फेरि एकपटक सरेको छ। नयाँ प्रस्तावअनुसार अब महाधिवेशन २०८३ साल वैशाख २८ देखि ३१ गतेसम्म हुने भएको छ। उक्त प्रस्ताव कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले शुक्रबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा पेश गरेका थिए, जसलाई बैठकले पारित गरेको जानकारी पूर्वमहामन्त्री डा. शशांक कोइरालाले दिएका छन्।
यसअघि गत मंसिर १५ गते सकिएको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ गतेदेखि १५औँ महाधिवेशन गर्ने निर्णय गरेको थियो। तर वडा कार्यसमितिको अधिवेशनसमेत सुरु हुन नसक्दा ‘रकेटको गतिमा’ गरिने भनिएको महाधिवेशन अघि बढ्न सकेन।
महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले पुस २६ गतेदेखि विशेष महाधिवेशन गर्ने घोषणा गर्दै भृकुटीमण्डपको हलसमेत बुक गरेका थिए। तर संस्थापन पक्षले त्यसको काउन्टर प्रस्ताव ल्याएर महाधिवेशन फागुन २१ को निर्वाचनपछि मात्रै गर्ने निर्णय पारित गराएको हो। विशेष महाधिवेशनका कारण पार्टी फुट्ने आशंका बढेका बेला संस्थापनले चुनावपछि मात्रै महाधिवेशन गर्ने अडान लिएको हो।
करिब डेढ महिनासम्म चलेको रस्साकस्सीपछि मंसिर १५ मा सकिएको केन्द्रीय कार्यसमिति बैठकको निर्णय एक महिनामै निष्प्रभावी भएपछि नयाँ कार्यतालिका पारित गरिएको हो। १५औँ महाधिवेशन र विशेष महाधिवेशनको विवादकै बीच ४० दिनभन्दा बढी चलेको बैठकले पनि कांग्रेसलाई निर्णायक दिशामा लैजान नसकेको आरोप लाग्दै आएको छ।
नयाँ प्रस्तावसँगै महामन्त्रीद्वय थापा र शर्माले नेतृत्व परिवर्तन गरेर फागुन २१ को निर्वाचनमा जाने योजना तत्कालका लागि तुहिएको छ। अब कांग्रेसले १४औँ महाधिवेशनबाट निर्वाचित सभापति शेरबहादुर देउवाको नेतृत्वमै चुनावमा जाने निश्चित भएको छ। उता एमालेले भने अध्यक्ष केपी शर्मा ओलीले विधान संशोधन गर्दै तेस्रो कार्यकालका लागि अध्यक्षमा कायम रहँदै चुनावी नेतृत्व सम्हाल्ने निर्णय गरिसकेको छ।
कांग्रेस महाधिवेशनको नयाँ कार्यतालिका
गाउँ/नगर वडा अधिवेशन : २०८२ चैत २१
गाउँ/नगरपालिका अधिवेशन : २०८२ चैत २५
प्रदेश सभा क्षेत्रीय अधिवेशन : २०८२ चैत २८
प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन / एक मात्र प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : २०८३ वैशाख २
दुई वा दुईभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन : २०८३ वैशाख ५
प्रदेश अधिवेशन : २०८३ वैशाख १०, ११ र १२
केन्द्रीय महाधिवेशन : २०८३ वैशाख २८, २९, ३० र ३१ (काठमाडौँ)
