उम्मेदवार छनोटका लागि स्वर्णिम वाग्लेको संयोजकत्वमा रास्वपाको समिति गठन
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठकले पार्टी समायोजन र निर्वाचन तयारी केन्द्रित दुई वटा उपसमिति गठन गर्ने निर्णय गरेको छ।
आज सम्पन्न बैठकले आगामी निर्वाचनका लागि उम्मेदवार छनोट तथा सिफारिस गर्न उपसभापति डा. स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस समिति गठन गरेको हो। उक्त उपसमितिलाई योग्य उम्मेदवारको पहिचान र छनोट प्रक्रियासम्बन्धी मापदण्डसहित सिफारिस गर्ने जिम्मेवारी दिइएको छ। उपसमितिका सदस्यहरू पार्टी सचिवालयले मनोनयन गर्ने निर्णय पनि बैठकले गरेको छ।
यसैगरी, पार्टी एकता र समायोजन प्रक्रियालाई सहजीकरण गर्दै निष्कर्षमा पुर्याउन पार्टी महामन्त्री कवीन्द्र बुर्लाकोटीको संयोजकत्वमा पार्टी एकता तथा समायोजन उपसमिति गठन गर्ने निर्णयसमेत भएको छ।
