पूर्वराष्ट्रपति भण्डारीद्वारा क्षतिग्रस्त सर्वोच्च अदालतको अवलोकन, प्रधानन्यायाधीश राउतसँग वार्ता
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जेनजी आन्दोलनका क्रममा क्षति पुगेको सर्वोच्च अदालतको अवलोकन गरेकी छन्।
गत २३ र २४ भदौमा भएको जेनजी आन्दोलनका क्रममा सर्वोच्च अदालतमा आगजनी भई भएको क्षतिको अवस्था बुझ्न भण्डारी शुक्रबार मध्याह्न सर्वोच्च अदालत पुगेकी हुन्। उनले करिब डेढ घण्टा सर्वोच्च परिसरमा बिताएकी थिइन्।
अवलोकनका क्रममा पूर्वराष्ट्रपति भण्डारीले प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतसँग भेटवार्ता गरिन्। सुरुमा उनले प्रधानन्यायाधीश, अन्य न्यायाधीशहरू तथा मुख्य रजिस्ट्रारसहित संयुक्त रूपमा छलफल गरेकी थिइन्। त्यसपछि भण्डारी र प्रधानन्यायाधीश राउतबीच मात्र करिब ४५ मिनेट कुराकानी भएको स्रोतले जनाएको छ।
मुख्य रजिस्ट्रार विमल पौडेलले पूर्वराष्ट्रपति भण्डारीलाई सर्वोच्च अदालतका विभिन्न भागको अवलोकन गराउँदै जेनजी आन्दोलनका क्रममा भएको क्षतिको विवरण जानकारी गराएका थिए।
अवलोकनपछि पूर्वराष्ट्रपति भण्डारीले सर्वोच्च अदालत जलेको घटनाप्रति गहिरो दुःख व्यक्त गरिन्। ‘न्यायको मूर्ति मानिने ऐतिहासिक धरोहर जलेको देख्दा अत्यन्त दुःख लागेको छ,’ उनले भनिन्।
उनले सर्वोच्च अदालतको तत्काल पुनर्निर्माण गर्न सरकारको ध्यान जानुपर्नेमा जोड दिँदै भनिन्, ‘सर्वोच्च अदालत, सिंहदरबार र संसद् भवन ऐतिहासिक तथा महत्वपूर्ण स्थल हुन्। सर्वोच्च अदालत त आमनागरिकले न्याय खोज्न पुग्ने थलो हो, त्यसैले यसको पुनर्निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्छ।’
यसअघि पूर्वराष्ट्रपति भण्डारीले केही साताअघि सिंहदरबार र संसद् भवनको पनि अवलोकन गरेकी थिइन्।
