अब विशेष महाधिवेशनबाहेक अन्य विकल्पमा जाने नैतिक आधार छैन : विशेष महाधिवेशन पक्ष
काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले पार्टीसँग अब विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प नरहेको स्पष्ट पारेका छन्।
विशेष महाधिवेशन मागकर्ता महाधिवेशन प्रतिनिधिहरूको तर्फबाट जारी विज्ञप्तिमा २६–२८ गतेका लागि तय गरिएको महाधिवेशन प्रभावित भइसकेको र १६ गते हुनुपर्ने वडा अधिवेशनसमेत सम्पन्न हुन नसकेको उल्लेख गरिएको छ। यस्तो गम्भीर अवस्थाप्रति केन्द्रीय कार्यसमितिले सामान्य जवाफदेहिता समेत नदेखाउनु विडम्बनापूर्ण भएको विज्ञप्तिमा भनिएको छ। घोषित मितिमा १५औँ महाधिवेशन नहुने कुरा अब स्पष्ट भइसकेको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘कार्यतालिका सार्वजनिक हुँदै हामीले घोषित समयमा महाधिवेशन नगरी मिति सार्ने कुनै सुविधा नहुने स्पष्ट चेतावनी दिएका थियौँ। यस्तो अवस्थामा असोज २९ गते दर्ता भएको विशेष महाधिवेशनको माग जीवित रहन्छ र त्यसको कार्यान्वयन गर्नु पार्टीको अनिवार्य कर्तव्य हो। अब नेपाली कांग्रेससँग विशेष महाधिवेशनबाहेक अन्य कुनै विकल्प बाँकी छैन।’
विशेष महाधिवेशन महाधिवेशन प्रतिनिधिको विशेष र वैधानिक अधिकार भएको उल्लेख गर्दै यो कसैको इच्छाअनुसारको विषय नभएको पनि विज्ञप्तिमा स्पष्ट पारिएको छ।
‘नेपाली कांग्रेसजस्तो लोकतान्त्रिक पार्टीले आफ्नै विधानको बाध्यकारी व्यवस्था पालना नगर्ने हो भने संविधान र विधिको शासनको वकालत गर्दै नागरिकसमक्ष जाने नैतिक धरातल कसरी रहन्छ ?’ विज्ञप्तिमा प्रश्न गरिएको छ। पार्टी विधानभन्दा माथि कोही पनि हुन नसक्ने र विधानको पालना गर्नु नेतृत्वको न्यूनतम जिम्मेवारी भएको उल्लेख गरिएको छ।
विधानले तोकेको तीन महिनाको समयसीमा पुस २८ भित्र विशेष महाधिवेशन अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने भएकाले विधानको सीमाभित्र रही विशेष महाधिवेशन मागकर्ताहरूको निवेदनअनुसार आगामी पुस २७–२८ गते विधानको धारा १७(२०) बमोजिम केन्द्रले विशेष महाधिवेशन गर्न पुनः जोडदार माग गरिएको छ। साथै, पुस २७–२८ मै विशेष महाधिवेशन हुने जिम्मेवारी पार्टी केन्द्रले पूरा गर्ने विश्वास पनि व्यक्त गरिएको छ।
