रसुवागढी करिब ६ महिनापछि पुनः सञ्चालन
काठमाडौँ । चीनसँगको प्रमुख व्यापारिक नाका रसुवागढी करिब ६ महिनापछि पुनः सञ्चालनमा आउने भएको छ। रसुवागढी–केरुङ जोड्ने ल्हेन्दे खोलामा रहेको पक्की पुल असार २४ गतेको बाढीले बगाएपछि ठप्प बनेको नाका बिहीबारदेखि औपचारिक रूपमा खुल्न लागेको हो।
रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुवप्रसाद अधिकारीका अनुसार नाका खोल्नेबारे चिनियाँ पक्षबाट औपचारिक जानकारी प्राप्त भएको छ।
“भोलिदेखि नाका औपचारिक रूपमा सञ्चालन गर्ने निर्णय भएको छ,” उनले भने, “उता रोकिएका सवारीसाधन र खोलाले बगाएका गाडीहरू निकासा गर्न चालकहरू केरुङ पुगिसकेका छन्।”
चीन सरकारले ल्हेन्दे खोलामा अस्थायी बेलिब्रिज निर्माण गरेपछि नाका सञ्चालनमा आउन लागेको हो। हाल निर्माण गरिएको बेलिब्रिज साँघुरो र एकतर्फी मात्र सञ्चालन हुने भएकाले तत्काल अघिल्लोजस्तै सहज रूपमा मालवाहक सवारीको ओहोरदोहोर भने सम्भव नहुने बताइएको छ।
बाढीले टिमुरेस्थित भोटेकोसी किनारमा निर्माणाधीन सुक्खा बन्दरगाह र स्याफ्रुबेँसी–रसुवागढी सडक खण्डमा पनि क्षति पुर्याएको थियो। रसुवागढीदेखि स्याफ्रुबेँसीसम्मको १६ किलोमिटर सडक खण्डमा अझै १३ स्थानमा बाटो बिग्रिएको छ। पहिरोको जोखिम र साँघुरो सडकका कारण यातायात सञ्चालन अझै चुनौतीपूर्ण छ। चीन सरकारको आर्थिक सहयोगमा उक्त सडकको स्तरोन्नतिको काम जारी रहेको छ।
अधिकारीका अनुसार बेलिब्रिजको भारबहन क्षमता परीक्षण भइसकेको छ। “केरुङतर्फ करिब २ सय कन्टेनर छन्। केहीमा सामान छन् भने केही खाली छन्। भोलिदेखि नै ती कन्टेनर फर्किन सुरु हुन्छन्,” उनले जानकारी दिए।
नाका खुल्नेबित्तिकै चीनबाट सामान बोकेका मालवाहक सवारी रसुवा भन्सार यार्डमा आइ भन्सार जाँचपछि काठमाडौँ पठाइनेछन्। बाढीले क्षति पुर्याएको भोटेकोसी किनारको भन्सार यार्ड सरसफाइ गरी करिब २ सय कन्टेनर अट्ने गरी व्यवस्थापन गरिएको प्रमुख भन्सार अधिकृत तुलसीप्रसाद भट्टराईले बताए।
बाढीअघि रसुवागढी नाकाबाट दैनिक करिब १ सय कन्टेनर चीन जाने र त्यति नै संख्यामा सामान नेपाल भित्रिने गरेको थियो। “अब भन्सार सामान्य रूपमा खुला हुन्छ। व्यवसायीहरूले नयाँ एलसी खोल्ने र सामान ल्याउने प्रक्रिया सुरु गर्न सक्छन्,” भट्टराईले भने। नाका बन्द हुँदा लत्ताकपडा, फलफूल तथा विद्युतीय सवारीसाधनको आयात प्रभावित भएको थियो।
