पूर्वमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

काठमाडौँ । विशेष अदालतले पूर्व सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

बुधबार विशेष अदालतका न्यायाधीश सुदर्शनदेव भट्ट, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले गुप्तालाई थुनामा राखी मुद्दाको सुनुवाइ अघि बढाउन आदेश जारी गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोजमा पूर्व संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री गुप्ता र पूर्व भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीको सरुवा थमौतीका लागि बिचौलियासँग घुस लेनदेनको अडिओ सार्वजनिक भएपछि प्रकरण बाहिर आएको थियो। अख्तियारका अनुसार मालपोत अधिकृतको सरुवा थमौतीमा ५३ लाख रुपैयाँ र भूमि आयोग कास्कीको अध्यक्ष नियुक्तिमा २५ लाख रुपैयाँ गरी कुल ७८ लाख रुपैयाँ घुस लेनदेन भएको दाबी गरिएको छ।

अडिओ सार्वजनिक भएपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका मन्त्री गुप्तालाई पदबाट राजीनामा दिन निर्देशन दिएका थिए। अख्तियारले गुप्ता र श्रेष्ठविरुद्ध ७८ लाख रुपैयाँ बिगो कायम गरेको छ।