पुसभित्रै विशेष महाधिवेशन बोलाउने तयारीमा गगन-विश्वप्रकाश

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुसभित्रै विशेष महाधिवेशन आह्वान गर्ने तयारी तीव्र पारेका छन् भने पार्टीको संस्थापन पक्ष भने केन्द्रीय कार्यसमितिको म्याद थप्ने रणनीतिमा जुटेको छ।

गत मंसिर १५ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले १५औँ महाधिवेशन अन्तर्गत पुस १६ गते वडा अधिवेशन गर्ने निर्णय गरेको थियो। तर तोकिएको समयमै वडा अधिवेशन सुरु हुन नसकेपछि महामन्त्री थापा र शर्माले विशेष महाधिवेशनको विकल्पमा गृहकार्य थालेका हुन्।

महामन्त्री गगन थापाले राष्ट्रप्रति जिम्मेवारी बहन गर्न सक्ने कांग्रेस निर्माण आजको प्रमुख दायित्व भएको उल्लेख गर्दै विशेष महाधिवेशन आह्वान गर्ने दिशामा पार्टी अघि बढेको बताएका छन्। “राष्ट्रप्रतिको दायित्व निर्वाह गर्न सक्ने कांग्रेस बनाउनु आज प्रत्येक कांग्रेस कार्यकर्ताको ऐतिहासिक जिम्मेवारी हो,” उनले भने, “त्यसैले हामी यही जिम्मेवारी पूरा गर्न पुस मसान्तभित्र विशेष महाधिवेशन आह्वान गर्ने बाटोमा अगाडि बढेका छौँ।”

विशेष महाधिवेशनको पक्षमा रहेका केन्द्रीय सदस्य मधु आचार्यले नियमित महाधिवेशनको प्रक्रिया अब समाप्त भइसकेको प्रतिक्रिया दिएका छन्। उनका अनुसार विशेष महाधिवेशन पुस २८ भित्रै बोलाउने तयारी छ।
“नियमित महाधिवेशनको कार्यतालिका ल्याउँदा पार्टी नेतृत्वको भनाइमा हामीले सहमति जनायौँ,” आचार्यले भने, “तर सो कार्यतालिकाअनुसार कुनै पनि अधिवेशन हुन सकेन। अब नियमित महाधिवेशनको अध्याय बन्द भइसकेकाले विशेष महाधिवेशनतर्फ जानुपर्छ।”

उनले कांग्रेस विधानअनुसार विशेष महाधिवेशन बोलाउन सक्ने व्यवस्था रहेको जिकिर गर्दै केन्द्रीय समितिले नगरे महामन्त्रीहरूले, त्यो पनि नभए पार्टीभित्रका सदस्यहरूले नै महाधिवेशन आह्वान गर्ने चेतावनी दिए।

गत असोज २९ गते कांग्रेस केन्द्रीय कार्यालय सानेपामा विशेष महाधिवेशन बोलाउन प्रस्ताव दर्ता भएको थियो। विधानअनुसार प्रस्ताव दर्ता भएको तीन महिनाभित्र विशेष महाधिवेशन आयोजना गर्नुपर्ने व्यवस्था छ।

तर संस्थापन पक्ष भने विशेष महाधिवेशनको विपक्षमा रहँदै आएको छ। संस्थापन पक्षका नेताहरूका अनुसार नियमित महाधिवेशनको कार्यतालिकामा सहमति जनाउँदा नै महामन्त्रीद्वयले आसन्न फागुन २१ को निर्वाचनअघि मिति नतोकिने सहमति गरेका थिए।

नियमित महाधिवेशनको कार्यतालिकाको मस्यौदा तयार गर्ने नेतामध्ये एकले भने, “महाधिवेशन गर्न नसकिए पनि ठिकै छ भन्ने सहमति थियो। अहिले मुलुक निर्वाचनमा होमिएको बेला विशेष महाधिवेशनको बहस गर्नु उपयुक्त हुँदैन।”

संस्थापन पक्षको बुझाइमा सबै राजनीतिक दलहरू निर्वाचन तयारीमा जुटिसकेकाले अहिले महाधिवेशन सम्भव छैन। पुसको अन्तिम सातातिर केन्द्रीय समिति बैठक बोलाएर वर्तमान कार्यसमितिको म्याद छ महिनाका लागि थप्ने र त्यसपछि महाधिवेशन कार्यतालिका संशोधन गरी आउँदो वैशाखमा महाधिवेशन गर्ने योजना बनाइएको छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले पनि विशेष महाधिवेशन आवश्यक नरहेको स्पष्ट पार्दै नियमित महाधिवेशनमै जोड दिँदै आएका छन्। यही कारणले गत मंसिरको केन्द्रीय कार्यसमिति बैठकले पुसको अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो।