नक्कली सुकुम्वासी बनाई विद्यालयको जग्गा दिने ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

पोखरा । कास्कीमा विद्यालयको जग्गा नक्कली सुकुम्बासीलाई वितरण गरिएको आरोपमा तत्कालीन भूमि आयोग कास्कीका अध्यक्ष गंगाप्रसाद पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिका–२६ मा रहेको सामुदायिक अमर ज्योति आधारभूत विद्यालयको ३ रोपनी ३ आना जग्गा गैरसुकुम्बासीलाई सुकुम्बासी देखाएर व्यक्तिको नाममा दर्ता गराइएको आरोपमा विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरेको हो।

मुद्दामा पोखरेलसहित तत्कालीन भूमि आयोगका सदस्यहरू, मालपोत कार्यालय कास्कीका तत्कालीन प्रमुख मालपोत अधिकृत रामचन्द्र अधिकारी, भूमि आयोग सदस्य आशबहादुर गुरुङ, उमाकुमारी थापा, सोमबहादुर नेपाली तथा जग्गा लिने भीमबहादुर विक प्रतिवादी बनाइएका छन्।

अख्तियारका अनुसार भीमबहादुर विकले आफ्नी श्रीमती सुकमाया कामीलाई सुकुम्बासी प्रमाणित गर्न गैरसुकुम्बासी हुँदाहुँदै झुटा विवरण पेश गरेका थिए। सो प्रक्रियामा भूमि आयोगका अध्यक्षदेखि मालपोत कार्यालयका प्रमुखसम्मको संलग्नता रहेको अख्तियारको ठहर छ।

झुटा विवरणका आधारमा तत्कालीन प्रमुख मालपोत अधिकृत अधिकारीबाट प्रमाणित गराई जग्गाधनी प्रमाणपूर्जा उपलब्ध गराइएको र भूमि आयोग कास्कीका अध्यक्ष पोखरेलले श्रेस्ता लागू गर्न पत्राचार गरेको अख्तियारले जनाएको छ।

अख्तियारले प्रतिवादीहरूविरुद्ध एक करोड ४९ लाख २५ हजार रुपैयाँ बिगो मागदाबी गर्दै भ्रष्टाचार मुद्दा दायर गरेको छ।