परराष्ट्रमन्त्री शर्माले लिए शपथ

काठमाडौँ । नेपाली सेनाका पूर्वरथी बालानन्द शर्माले परराष्ट्रमन्त्री पदमा पद तथा गोपनीयताको शपथ लिएका छन् । आजै मन्त्री नियुक्त भएका शर्माले राष्ट्रपति भवन शितलनिवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधान्यायाधीश, मन्त्रीहरूलगायत सहभागी थिए ।

पूर्वरथी शर्मा सेना समायोजन विशेष समिति सचिवालयको संयोजक समेत बनेका थिए । नेपाली सेनामा माओवादी लडाकुहरुको समायोजनको कुशल डिजाइनरका रुपमा उनलाई चिनिन्छ ।

राजनीतिक दबाबका बीच ३० हजार माओवादी लडाकूलाई घटाएर १५ सयभन्दा थोरैलाई मात्र समायोजनमा पार्नु र स्वेच्छिक अवकास रोज्नेहरुलाई निश्चित रकम दिएर घर फर्काउने काममा उनले महत्वपूर्ण भूमिका खेलेको बताइन्छ ।

प्रधानमन्त्री नेतृत्वको सेना समायोजन विशेष समितिको सचिवालय संयोजकको सफल नेतृत्व गरेका उनलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले कोभिड–१९ निर्देशक समितिअन्तर्गत कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को प्रमुखको जिम्मेवारी समेत दिएको थियो ।