प्रधानमन्त्री कार्कीको भनाइ : देश बंगलादेश नबनोस्
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नेपाललाई बंगलादेशजस्तो अवस्था बन्न नदिनुपर्ने बताएकी छिन्।
बाह्रखरी कथा प्रतियोगिताका विजेता घोषणा तथा पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले अन्तरिम सरकारमाथि चौतर्फी दबाब बढिरहेको उल्लेख गरिन्। उनले अन्तरिम सरकार ‘अचानो’ जस्तै बनेको टिप्पणी दोहोर्याउँदै राजनीतिक दल र जेन–जी समूहबाट निरन्तर सरकार छोड्न दबाब र आलोचना भइरहेको गुनासो गरिन्।
‘युवाहरूबाट निर्वाचन नै किन चाहियो भन्ने प्रश्नसमेत उठिरहेको छ। कतै गए पनि सहज अवस्था छैन,’ उनले भनिन्, ‘२५–३० वटा जेन–जी समूह छन्, कसैले एउटा काम भन्नुहुन्छ, कसैले अर्को। हामी मुलुक बंगलादेश नहोस् भन्ने सोचमै काम गरिरहेका छौँ।’
सबैतिरबाट आलोचना र गाली सहनुपरेको भन्दै प्रधानमन्त्री कार्कीले आफूहरू धैर्यका साथ काम गरिरहेको बताइन्। ‘राजनीतिक दलले पनि गाली गर्छन्, जेन–जीले पनि आजै सरकार छोड, भोलि छोड भन्छन्,’ उनले भनिन्, ‘तर छोडेपछि पनि फेरि दोष लगाइन्छ। हामी त पेन्डुलमजस्तै अवस्थामा छौँ, त्यसै पनि धैर्य गरेर, मेहनत गरेर काम गरिरहेका छौँ।’
प्रधानमन्त्री कार्कीले वर्तमान कठिन परिस्थितिमा पनि संयम र धैर्यताका साथ सरकार सञ्चालन गरिरहेको स्पष्ट पारिन्।
