सभापति देउवालाई भेट्न महाराजगञ्ज पुगे अध्यक्ष ओली

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ।

देउवालाई भेट्न एमाले अध्यक्ष ओली महासचिव शंकर पोखरेलसहित महाराजगञ्जस्थित देउवाको निवासमा पुगेका थिए। भेटवार्तामा देउवाकी पत्नी आरजु राणा देउवा पनि सहभागी थिइन्।

हालै सम्पन्न एमाले महाधिवेशनपछि तेस्रोपटक पार्टी नेतृत्वमा आएका ओलीले राजनीतिक भेटघाटलाई तीव्रता दिएका छन्। संसद् पुनःस्थापनाको मुद्दामा कांग्रेस र एमाले एकै धारमा उभिएको सन्दर्भमा यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

यसअघि पनि मंसिर १० गते ओली पत्नी राधिका शाक्यसहित देउवालाई भेट्न महाराजगञ्ज पुगेका थिए। देउवा–ओली भेटपछि कांग्रेसका आठ पूर्वसांसदको वारेसमार्फत विघटित प्रतिनिधिसभा पुनःस्थापनाको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको थियो। एमालेले भने त्यसअघि नै सो विषयमा रिट दायर गरिसकेको थियो।

भदौको जेन–जी आन्दोलनपछि देउवा र ओलीबीच यो दोस्रो भेट हो।