३० भन्दा बढी हलमा ‘परान’को ५१ औँ दिन, आश्रमलाई न्यानो कपडा सहयोग

काठमाडौँ । बाइस्कोप सिनेमा ब्यानरमा निर्माण भएको नेपाली चलचित्र परान ले शनिबार देशभरका ३० भन्दा बढी हलमा प्रदर्शनको ५१ औँ दिन पूरा गरेको छ। यो अवसरमा परान टिमले बुढानीलकण्ठस्थित ‘पवित्र समाजसेवा नेपाल आश्रम’ पुगेर न्यानो कपडा वितरण गरेको छ।

चलचित्रका निर्माता रन्जित आचार्यका अनुसार आश्रममा आश्रित ६५ जना अनाथ तथा वृद्धवृद्धालाई न्यानो कपडा प्रदान गरिएको हो। साथै, आगामी साता अर्को विशेष कार्यक्रम आयोजना गरी केही महत्वपूर्ण घोषणा गरिने पनि उनले जानकारी दिए।

चलचित्रका निर्देशक दीपक प्रसाद आचार्यले ५१ दिनसम्म दर्शकबाट प्राप्त साथ र मायाप्रति आभार व्यक्त गर्दै यसले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन्।

नीर शाह, मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, केकी अधिकारी, अञ्जना बराइली, महेश त्रिपाठी, प्रवीण खतिवडा र बुद्धि तामाङ मुख्य भूमिकामा रहेको परान हाल देशभर करिब ३० हलमा प्रदर्शन भइरहेको छ। शनिबार ३० भन्दा बढी शो पाएको चलचित्रले आइतबार भने केही कम हलमा प्रदर्शन पाएको छ।

प्रदर्शनको ५१ दिन पूरा गर्दै परान ले नेपाली बक्स अफिसमा १८ करोड रुपैयाँ ग्रस कलेक्सन गरेको छ। यससँगै परान नेपाली चलचित्रको व्यावसायिक इतिहासमा सर्वाधिक कमाइ गर्ने चौथो फिल्म बनेको छ।