रवि लामिछाने रास्वपाको सभापति रूपमा पुनः सक्रिय
काठमाडौँ । रवि लामिछाने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापतिकै हैसियतमा पुनः जिम्मेवारीमा फर्किएका छन्। सहकारी ठगी प्रकरणमा कारागार पुगेका उनी शुक्रबार रिहा भएका थिए।
रिहाइपछि आज बसेको पार्टीको केन्द्रीय समिति बैठकमा उनी सभापतिकै रूपमा सहभागी भएका हुन्। बैठक हाल उनको अध्यक्षतामा जारी छ।
जेल चलान भएपछि लामिछानेले उपसभापति डोलप्रसाद अर्याललाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएका थिए। आज उनै अर्यालले पार्टीको कार्यकक्षमा लामिछानेलाई सभापतिकै रूपमा स्वागत गरेका थिए।
यसअघि बनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयमा नेता तथा कार्यकर्ताले लामिछानेलाई बाजागाजासहित स्वागत गरेका थिए। जेलबाट मुक्त भएपछि केन्द्रीय कार्यालय पुगेका लामिछानेले पार्टी कार्यकर्तालाई सम्बोधनसमेत गरेका छन्।
