एमाले देशको झन्डा ओढेर सिंहदरबार जलाउने जस्तो पार्टी होइन : केपी ओली
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र अनुशासन सबैभन्दा महत्वपूर्ण हुने बताएका छन् । ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले मतपरिणाम स्वीकार गर्दै पार्टी एकताबद्ध रूपमा अघि बढेको उल्लेख गरे।
पार्टीको छवि बिगार्ने कुनै पनि गतिविधि स्वीकार्य नहुने बताउँदै ओलीले अनुशासन सामाजिक जीवनको आधार भएको धारणा राखे। ‘मानव समाज नै अनुशासनमा बाँधिएर अघि बढेको हो। अनुशासनबिनाको समूह समाज हुन सक्दैन,’ उनले भने।
एमाले लोकतान्त्रिक पार्टी भएको उल्लेख गर्दै ओलीले भने, ‘हामी राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउनेजस्तो नक्कली आवरणको पार्टी होइनौँ। यहाँ दृढ विश्वास र प्रतिबद्धता आवश्यक छ।’
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएका सदस्य तथा पदाधिकारीहरूलाई समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने निर्णय गरेको छ ।
बैठकमा महासचिव शंकर पोखरेलले सल्लाहकार परिषद् गठन गर्ने जानकारी गराएका हुन्।
उनका अनुसार केन्द्रीय कमिटीबाट बाहिरिएका सदस्य र पदाधिकारीहरूलाई समेटेर पार्टीको सल्लाहकार परिषद् बनाइनेछ। बैठकमा विभिन्न निर्णयहरू निर्णयार्थ प्रस्तुत भइरहेको जनाइएको छ।
त्यस्तै, एमालेले आगामी पुस २७ देखि २९ गतेसम्म दोस्रो केन्द्रीय कमिटी बैठक आह्वान गरेको छ।
