एमालेको अन्तिम परिणाम सार्वजनिक, विहीबार नै सपथ ग्रहण
काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको विवरण सार्वजनिक भएको छ । त्यस्तै सम्पूर्ण उम्मेदवारहरुको मत परिणाम समेत सार्वजनिक भएको छ ।
अन्तिम मत परिणाम अनुसार नेकपा एमालेको अध्यक्षमा तेस्रो पटक लगातार केपी शर्मा ओली निर्वाचित भएका छन् ।
१९ सदस्यीय पदाधिकारीमा दुई जना वाहेक सवै ओली पक्षकै निर्वाचित भएका छन् । अध्यक्षमा ओलीसँग ईश्वर पोखरेल प्रतिस्पर्धामा उत्रिएका थिए ।
पोखरेल प्यानलबाट उपाध्यक्षमा गोकर्ण विष्ट र उपमहासचिवमा योगेश भट्टराई मात्रै विजयी भएका छन् । सचिवमा सबै ओलीकै प्यानलका उम्मेदवारहरू निर्वाचित भएका छन् ।
उपाध्यक्षहरमा विष्णु पौडेल, रामबहादुर थापा, पृथ्वीसुब्बा गुरुङ, रघुजी पन्त र गोकर्ण विष्ट निर्वाचित भएका छन् भने महासचिवमा शंकर पोखरेल निर्वाचित भएका छन् ।
त्यस्तै उपमहासचिवमा रघुवीर महासेठ, लेखराज भट्ट र योगेश भट्टराई निर्वाचित भएका छन् ।
नौ सचिवमा छविलाल विश्वकर्मा, भानुभक्त ढकाल, पद्मा अर्याल, खगराज अधिकारी, यामलाल कँडेल, राजन भट्टराई, शेरधन राई, हिक्मत कार्की र महेश बस्नेत निर्वाचित भएका छन् ।
नवनिर्वाचित अध्यक्ष, पदाधिकारी, सदस्यले बिहीबार नै शपथ लिएका छन् ।
अध्यक्ष ओलीलाई सपथ गराएपछि निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाले ओलीलाई पुष्पगुच्छा प्रदान गर्दै बधाई तथा शुभकामना दिएका छन् ।
ओली २०७८ मा चितवनको सौराहामा आयोजित दशौं महाधिवेशनमा अध्यक्षमा निर्वाचित भएका थिए भने त्यसअघि उनी २०७१ मा काठमाडौंमा सम्पन्न नवौँ महाधिवेशनमा पहिलोपटक अध्यक्षमा निर्वाचित भएका थिए ।
२०६५ मा बुटवलमा भएको आठौं महाधिवेशनमा भने ओली झलनाथ खनालसँग पराजित भएका थिए ।
