प्रधानाध्यापकविरुद्ध अख्तियारद्वारा भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनुषाको विदेह नगरपालिका–२, दुहवीस्थित शंकर जनता माध्यमिक विद्यालयका प्रधानाध्यापक धनिकलाल ठाकुरविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले आर्थिक वर्ष २०७८/०७९ मा आईसीटी ल्याब स्थापना तथा आर्थिक वर्ष २०७९/०८० को राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत विद्यालयमा आईटी ल्याब स्थापना र डिजिटल लाइब्रेरी सुदृढीकरणका लागि विनियोजित रकम हिनामिना गरेको आरोपसहित सोमबार मुद्दा दायर गरेको हो।
अख्तियारले प्रधानाध्यापक ठाकुरसँगै तत्कालीन लेखापाल अरुणकुमार कुशियैतविरुद्ध पनि जनही रु आठ लाख ६२ हजार १५२ बिगो कायम गरी विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ। आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीका अनुसार दुवै जनाले आपसी मिलेमतोमा सरकारी तथा सार्वजनिक सम्पत्तिको हिनामिना, हानि–नोक्सानी र दुरुपयोग गरेका छन्।
‘ठाकुर र कुशियैतले योजनाबद्ध रूपमा सार्वजनिक सम्पत्ति दुरुपयोग गरेको देखिएकाले उनीहरूको कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम कसूर ठहर गरी सजायको मागदाबी लिई विशेष अदालतमा आरोपपत्र दायर गरिएको हो,’ अधिकारीले बताए।
