एमाले अध्यक्षका लागि ओली र पोखरेलको उम्मेदवारी

काठमाडौँ । नेकपा एमालेको आगामी अध्यक्ष पदका लागि दुई जनाको उम्मेदवारी दर्ता भएको छ। वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष पदका लागि उम्मेदवारी दिएका हुन्।

महासचिव पदमा वर्तमान महासचिव शंकर पोखरेल र उपाध्यक्ष सुरेन्द्र पाण्डेबीच प्रतिस्पर्धा हुने भएको छ। शंकर पोखरेल संस्थापन पक्षका उम्मेदवार हुन् भने सुरेन्द्र पाण्डे इतर समूहका उम्मेदवार हुन्।

दुवै पक्ष प्यानलसहित चुनावी मैदानमा उत्रिएका छन्। अध्यक्ष ओली तेस्रो पटक अध्यक्ष बन्ने तयारीमा रहेका छन् भने ईश्वर पोखरेल पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको समर्थनसहित प्रतिस्पर्धामा उत्रिएको बताइएको छ।

हिजोदेखि सुरु भएको एमालेको ११औँ महाधिवेशनमा विभिन्न पदका लागि उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ। महाधिवेशनमा सहभागी २ हजार २६३ प्रतिनिधिले ३०१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्नेछन्।