सरकारलाई राष्ट्रपतिको सुझाव : प्रतिनिधिसभा निर्वाचन फागुन २१ बाट दायाँबायाँ नहोस्

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा निर्वाचनको मिति फागुन २१ बाट दायाँबायाँ नहुने गरी सम्पूर्ण ध्यान केन्द्रित गर्न सरकारलाई सुझाव दिएका छन्।

आइतबार राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रिय सुरक्षा परिषद्को आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले निर्वाचनलाई प्रभावित नहुने गरी सबै गतिविधि अघि बढाउन सरकारलाई आग्रह गरे।

उनले निर्वाचनको सन्दर्भमा सुरक्षा व्यवस्थाप्रति विशेष चासो व्यक्त गर्दै अघिपछि भन्दा अझ बढी तदारुकताका साथ तयारी गर्न नेपाली सेनासहित सबै सुरक्षा निकायलाई निर्देशन दिए।

सो अवसरमा प्रधानमन्त्री तथा राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष सुशील कार्कीले राष्ट्रपति पौडेलसमक्ष परिषद्को वार्षिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्।

राष्ट्रपति पौडेलले वर्तमान अवस्था तथा भविष्यमा देखिन सक्ने सुरक्षा चुनौतीहरूको समेत समग्र मूल्याङ्कन गर्दै राष्ट्रिय सुरक्षा परिषद्ले आगामी दिनमा आफ्नो जिम्मेवारी अझ प्रभावकारी रूपमा निर्वाह गर्ने विश्वास व्यक्त गरे।