बन्दसत्रमा ओलीको भनाइ : ‘माथि सत्तोसराप भइरहँदा वरिपरिका साथीले झन् माया गर्नुपर्दैन र ?’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी र आफूविरुद्ध निरन्तर भइरहेको आलोचना र आक्रमणका बीच पार्टीभित्रका सहकर्मीहरूले अझ मजबुत साथ र एकता देखाउनुपर्ने बताएका छन्।
आइतबार ११औँ महाधिवेशनको बन्दसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले विश्वभरका विरोधीहरूले आफूलाई एक्लो व्यक्ति झैँ बनाएर निरन्तर गालीगलौज र सत्तोसराप गरिरहेको अवस्थामा पार्टीका प्रिय कमरेडहरूले थप माया र समर्थन देखाउनुपर्ने धारणा राखे।
‘दुनियाँभरिका विरोधीहरूले अरू कोही नपाएजसरी केपी ओली एक्लोलाई गाली र सत्तोसराप गरिरहेका बेला वरिपरिका प्रिय कमरेडहरूले झन् माया गर्नुपर्ने होइन र ?’ उनले प्रश्न गरे।
वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलप्रति संकेत गर्दै ओलीले आफूलाई ‘डोकोमा हालेर फाल्छौँ’ भन्नेहरूले अन्ततः अरूलाई पनि नछोड्ने टिप्पणी गरे।
‘कुसमयमा मलाई फाल्न डोको खोजिन्छ भने पछि साथीहरूले ईश्वर कमरेडलाई पनि डोको फिर्ता लैजाऊँ, तपाईंलाई पनि फाल्नुपर्छ भन्छन्,’ ओलीले भने, ‘मेरो तर्फबाट केही घच्चमच्च भएको छ भने त्यसका लागि सरी।’
