‘किन लाग्छ माया’को प्रदर्शन मिति सार्वजनिक, चैत्र ६ गतेदेखि विश्वभर रिलिज
काठमाडौँ । नेपाली फिल्म ‘किन लाग्छ माया’ आगामी चैत्र ६ गते नेपालसहित विश्वभर एकैपटक प्रदर्शनमा आउने भएको छ। निर्माण टीमले फस्टलुक पोस्टर सार्वजनिक गर्दै आधिकारिक रूपमा प्रदर्शन मिति घोषणा गरेको हो।
सार्वजनिक पोस्टरमा मुख्य कलाकारहरू सञ्जित भण्डारी, जाह्नवी बस्नेत, सेडो रियल तथा ऋचा थापा फिचर गरिएको छ।
एस एन्ड एस प्रोडक्सनको ब्यानरमा तयार भएको यस फिल्मका निर्माता सञ्जित भण्डारी र मोनु खड्का हुन् भने निर्देशन कुवेर तामाङले गरेका छन्।
फिल्ममा सञ्जित भण्डारी, जाह्नवी बस्नेत, ऋचा थापा, धिरेन शाक्य, पवित्रा साकी (मिस पबी), हिउबाला गौतम, सबिन बास्तोला, रवि डंगोल, गोपाल ढकाल, राजेन्द्र खड्की, गीता अधिकारी, निरोज खुलाल, सम्रान्त थापा, भेग पहरी, बिनोद ढकाल, रामकाजी घिमिरे, रबिन्द्र खड्का लगायत कलाकारको अभिनय समावेश छ।
बाल कलाकारका रूपमा आराध्या राज्यलक्ष्मी बीसी, विनायक सुनुवार र सुरित पौडेलले अभिनय गरेका छन्।
म्यूजिक भिडियो क्षेत्रमा परिचित सेडो रियलले यस फिल्ममार्फत डेब्यु गरेका छन्। फिल्मको कथा पनि उनकै अवधारणामा आधारित रहेको निर्माण पक्षले जनाएको छ। पटकथा एवं संवाद रामकाजी घिमिरेले तयार पारेका हुन्।
‘किन लाग्छ माया’ले दाजुभाइबीचको मित्रता, एक-अर्काप्रतिको जिम्मेवारी, त्याग र विवाहपछि दम्पतीबीच विकसित हुने प्रेमकथालाई प्रस्तुत गर्ने बताइएको छ।
