ओलीको आरोप : ‘एमालेको महाधिवेशन भाँड्ने प्रयास भइरहेको छ’
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको आगामी महाधिवेशनलाई विथोल्ने प्रयास भइरहेको दाबी गरेका छन्। शुक्रबार काठमाडौँमा आयोजित एक कार्यक्रममा बोल्दै उनले यस्तो प्रयास सफल हुन नदिने भन्दै स्पष्ट चेतावनी दिए।
एमालेको महाधिवेशन मंसिर २७, २८ र २९ गते काठमाडौंमा हुने तय छ। सो महाधिवेशनमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष ओलीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्ने घोषणा गरिसकेका छन्।
अध्यक्ष ओलीले महाधिवेशनलाई ‘एकताको महाधिवेशन’का रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै फराकिलो सोच र समावेशी भावनासहित सम्पन्न गर्न सबैलाई आग्रह गरे।
उनका अनुसार महाधिवेशन भव्य र सफलतापूर्वक सम्पन्न हुनेछ, तर त्यसलाई भाँड्ने विभिन्न गतिविधि सुनिन र देखिन थालेको दाबी गरे।
उनले भने, ‘एमालेको महाधिवेशन अत्यन्त भव्य रूपमा सम्पन्न हुनेछ। त्यसलाई भाँड्नका लागि विभिन्न प्रयास भइरहेका छन्। यस्तो सोच नै नबनाउनुस्। एमाले आफ्नो महाधिवेशन आफैँ गर्छ, र निर्धारित स्थानमा गर्छ।’
ओलीले सामाजिक सञ्जालमा फैलाइएका विभिन्न भ्रमहरूको पछि नलाग्न कार्यकर्ताहरूसँग आग्रह गर्दै महाधिवेशनलाई एकताको अवसरका रूपमा रुपान्तरण गर्न सबैलाई प्रेरित गरे।
उनले महाधिवेशनमार्फत मुलुकको राष्ट्रियता र स्वाभिमान अझ उचाइमा पुग्ने विश्वाससमेत व्यक्त गरे।
