मधेसका पाँच प्रदेश सांसद पदमुक्त, सूचना राजपत्रमा प्रकाशित

काठमाडौँ । मधेस प्रदेश सभाका पाँच जना सदस्य पदमुक्त भएको सूचना राजपत्रमा औपचारिक रूपमा प्रकाशित भएको छ।

सभामुख रामचन्द्र मण्डलले लगातार १० वटा बैठकमा अनुपस्थित भएको आधारमा नागरिक उन्मुक्ति पार्टीकी सांसद उर्मिला देवी सिंह, जसपा नेपालका सांसदहरू मनीष सुमन, संजय कुमार यादव, सिंहासन सा कलवार र सारदा संकर प्रसाद कलवारलाई बिहीबार पदमुक्त गरिएको जानकारी सार्वजनिक गरेका थिए।

आज भने सो निर्णयको आधिकारिक सूचना राजपत्रमा छापिएको हो।

राजपत्रमा भनिएको छ, “मधेस प्रदेश सभा बैठकको अभिलेखअनुसार नेपालको संविधानको धारा १८० (घ) बमोजिम लगातार १० बैठकमा अनुपस्थित रहेकामुळे उल्लेखित माननीय सदस्यहरू मिति २०८२/०७/२७ गतेदेखि प्रदेश सभा सदस्यबाट पदमुक्त भएका छन्। यस अनुसार उनीहरूको पद रिक्त भएको हुँदा प्रदेश सभा कार्य सञ्चालन नियमावली, २०७५ को नियम १८५ बमोजिम सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको हो।”

सभामुख मण्डलविरुद्ध अविश्वास प्रस्ताव दर्ता भइसकेपछि उनले विपक्षी दलका अनुपस्थित सांसदहरूलाई पदमुक्त गर्ने निर्णय गरेका थिए। हाल मधेस प्रदेशमा नेपाली कांग्रेससहितको गठबन्धन सरकार ढलेपछि एमालेका सरोजकुमार यादव नेतृत्वमा नयाँ मन्त्रिपरिषद् गठन भएको छ।