रामकुमारी झाँक्री र किसान श्रेष्ठसहितका नेताहरू एमालेमा प्रवेश

काठमाडौं । नेकपा (माओवादी केन्द्र) सँगको एकता प्रक्रियामा असहमति जनाएका पूर्व नेकपा (एकीकृत समाजवादी) का नेता–कार्यकर्ताहरू पुनः नेकपा (एमाले) मा फर्किएका छन्।

सोमबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित ‘घर फर्क राष्ट्रिय अभियान घोषणा सभा’ कार्यक्रममा नेतृ रामकुमारी झाँक्री, नेता किसान श्रेष्ठ लगायतका नेता–कार्यकर्ताहरू औपचारिक रूपमा एमालेमा समाहित भएका हुन्।

कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ प्रवेश गर्ने नेताहरूलाई पार्टीको झण्डा र खादामाला लगाएर स्वागत गरे।
सो अवसरमा झाँक्री र श्रेष्ठले एमाले अध्यक्ष ओलीलाई सांकेतिक रूपमा कलम हस्तान्तरण गर्दै पार्टीमा पुनः फर्किएको संकेत गरेका थिए।
उक्त कलम ‘कमल’ (एकीकृत समाजवादीको चुनाव चिन्ह) सँग सम्बन्धित प्रतीकका रूपमा प्रस्तुत गरिएको थियो।

एमालेमा समाहित हुनेमध्ये केन्द्रीय सदस्यहरू गम्भीरलाल श्रेष्ठ, राजाराम स्याङ्तान, ध्रुव विष्ट, नवराज पौडेल, अर्जुन राई, अम्बिका राई लगायत रहेका छन्।

त्यस्तै, अन्य नेताहरू केदारप्रसाद गौतम, डा. सावित्रिदेवी न्यौपाने, उत्तमदेवी श्रेष्ठ, केशव सापकोटा, शत्रुजङ्ग बस्नेत, सोमित राई, मणि दाहाल, विशाल क्षेत्री, उपेन्द्र थापा, जीवन मगर, सञ्जीव भण्डारी, नरबहादुर श्रेष्ठ, बुद्ध श्रेष्ठ, टेकबहादुर श्रेष्ठ, सोमबहादुर श्रेष्ठ, हरिकृष्ण श्रेष्ठ, कृष्णगोपाल श्रेष्ठ, होमनाथ श्रेष्ठ, सरु मिश्र उप्रेति, सन्तोष कुसवाह, तेजप्रसाद नेपाल, हरिप्रसाद नेपाल, दावा शेर्पा, शमशेर शाक्य, प्रविण घर्ती मगर लगायतका कार्यकर्ताहरू पनि एमालेमा प्रवेश गरेका छन्।