‘परान’ ले नौ दिनमा कमायो ३ करोड ७१ लाख रुपैयाँ
काठमाडौं । नेपाली फिल्म ‘परान’ ले प्रदर्शनको नौ दिनमै उल्लेखनीय व्यापार गरेको छ। चलचित्र विकास बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार फिल्मले नौ दिनमा ३ करोड ७१ लाख ३६ हजार ५५३ रुपैयाँ ग्रस कलेक्सन गरेको छ।
बोर्डले कात्तिक २२ गते शनिबार मध्यरातिसम्मको बक्स अफिस रिपोर्ट सार्वजनिक गर्दै फिल्मले १ लाख २८ हजारभन्दा बढी टिकट बिक्री गरेको जनाएको छ।
फिल्मले प्रदर्शनको पहिलो दिन करिब ५ लाख रुपैयाँ मात्र कमाएको थियो, जसका कारण प्रारम्भिक रूपमा यसले ठूलो व्यापार गर्न नसक्ने अनुमान गरिएको थियो। तर, माउथ पब्लिसिटी (दर्शकको सकारात्मक प्रतिक्रिया) का कारण दोस्रो सातामा हलमा दर्शकको उपस्थिति उल्लेखनीय रूपमा बढेको छ।
गएको शनिबार मात्र फिल्मले एक करोडभन्दा बढी कमाइ गर्न सफल भएको बोर्डको रिपोर्टमा उल्लेख छ।
दीपकप्रसाद आचार्य (काकु)को निर्देशनमा बनेको यस फिल्ममा वरिष्ठ अभिनेता नीर शाह प्रमुख भूमिकामा छन्। साथमा मदनकृष्ण श्रेष्ठ, पूजा चन्द, महेश त्रिपाठी, अञ्जना बराइली, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायत कलाकारहरूको अभिनय रहेको छ।
फिल्ममा गोल्छा समूहका शेखर गोल्छा र प्रिज्मा एड्भर्टाइजिङका रञ्जित आचार्यको लगानी रहेको छ।
