प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् तेस्रो पटक विस्तार, अझै अपूर्ण
काठमाडौं । जेन–जी आन्दोलनपछि करिब डेढ महिनामा प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारले आइतबार तेस्रो चरणमा मन्त्रिपरिषद् पुनर्गठन गरेको छ।
प्रधानमन्त्री कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार दुई मन्त्रीलाई शपथ ग्रहण गराएका छन्। डा. सुधा शर्मा गौतमले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र बब्लु गुप्ताले युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी सम्हालेका छन्।
प्रधानमन्त्री कार्कीले सुरुमा चार जनाको नाम सिफारिस गरेकी थिइन्। तर खगेन्द्र सुनारको नाम विवादमा आएपछि हटाइयो, भने गणपतिलाल श्रेष्ठको शपथ अन्तिम समयमा रोकियो।
नयाँ दुई मन्त्री थपिएसँगै प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद् अहिले १० सदस्यीय भएको छ। प्रधानमन्त्रीको सचिवालयका अनुसार, “केही महत्वपूर्ण मन्त्रालयमा अझै मन्त्री थपिने सम्भावना” रहेको छ, तर निर्वाचनसम्म यही टोलीले सरकार सञ्चालन गर्ने योजना रहेको बताइएको छ।
यसअघि, दोस्रो संविधानसभा निर्वाचन गराउनका लागि १२ वर्षअघि तत्कालीन प्रधानन्यायाधीश खिलराज रेग्मीको नेतृत्वमा बनेको मन्त्रिपरिषद् १२ सदस्यीय थियो। अहिले पनि त्यसैको ढाँचामा १२ सदस्यीय मन्त्रीपरिषद् बनाउने तयारी चलिरहेको स्रोतको भनाइ छ।
अहिलेका मन्त्रीहरूमा प्रायः पूर्व–प्रशासनिक र प्राविधिक पृष्ठभूमिका व्यक्तिहरू रहेका छन्।
- अर्थमन्त्री रामेश्वर खनाल अर्थ मन्त्रालयका पूर्वसचिव हुन्।
- कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक हुन्।
- अनिलकुमार सिन्हा सर्वोच्च अदालतका पूर्वन्यायाधीश हुन्।
- डा. सुधा शर्मा गौतम १४ वर्षअघि स्वास्थ्य सचिव रहँदा मन्त्रीहरूसँग मतभेदका कारण राजीनामा दिएर राष्ट्रसंघीय नियोगहरूमा कार्यरत थिइन्।
- गृहमन्त्री ओमप्रकाश अर्याल अधिवक्ता हुन्।
- सञ्चारमन्त्री जगदीश खरेल पत्रकारिता पृष्ठभूमिका हुन्।
- शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुन राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक हुन्, जसले ग्रामीण क्षेत्रमा प्रविधिको पहुँच विस्तारका माध्यमबाट सामाजिक सेवा गरेका छन्।
- कृषि तथा पशुपन्छी विकास मन्त्री मदन परियार अध्ययन, अनुसन्धान र सामाजिक गतिविधिमा सक्रिय व्यक्तित्व हुन्।
नवनियुक्त युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता सामाजिक कार्यमा सक्रिय व्यक्तित्व हुन्। कोरोना महामारीको समयमा उनले विपन्न वर्गका लागि निःशुल्क खाना र ‘कपडा बैंक’ अभियान सञ्चालन गरेका थिए। उनले स्थापना गरेको ‘हन्ड्रेड ग्रुप’ मार्फत विभिन्न सामाजिक सहयोग कार्यक्रम सञ्चालन हुँदै आएका छन्।
अहिलेसम्मको संरचनाले हेर्दा प्रधानमन्त्री कार्कीको मन्त्रिपरिषद्मा महिला, आदिवासी, दलित र मधेशी समुदायको प्रतिनिधित्व देखिएको छ। बब्लु गुप्ताको समावेशले जेन–जी आन्दोलनकर्मी र मधेशी समुदाय दुबै पक्षको प्रतिनिधित्व सुनिश्चित भएको स्रोतले बताएको छ।
