सडक भासिएपछि पृथ्वी राजमार्ग अस्तव्यस्त, लामो जामले यात्रु हैरान
काठमाडौं । पृथ्वी राजमार्गमा सवारीसाधनको चाप असामान्य रूपमा बढेपछि आवागमन प्रभावित बनेको छ।
मुग्लिन–आँबुखैरनी सडक खण्डअन्तर्गत साखर भन्ने स्थानमा सडक भासिएर आवागमन एकतर्फी भएपछि जामको समस्या चर्किएको सडक डिभिजन कार्यालय भरतपुरले जानकारी दिएको छ।
एकतर्फी आवागमनका कारण मुग्लिन–नारायणगढ सडक खण्डमा समेत सवारीसाधनको भीड बढेको छ। यसैक्रममा जामको प्रभाव कुरिनटारसम्म फैलिएको छ, जसले यात्रुहरूलाई लामो समय सडकमा रोकिनु परेको छ।
सडक डिभिजन कार्यालयले पहिरोको उच्च जोखिमयुक्त स्थानहरू र पुलमाथि सवारीसाधन नरोक्न चालकहरूलाई आग्रह गरेको छ। साथै, वैकल्पिक मार्ग प्रयोग गर्न सक्ने सवारीसाधनलाई त्यसतर्फ ध्यान दिन समेत अनुरोध गरिएको छ।
