माओवादी र समाजवादी एकतामा नजिक, मंसिर १० अघि नै राष्ट्रिय सम्मेलनमार्फत घोषणा हुने सम्भावना

विप्लवका तीन सर्तले एकता कठिन

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) बीच पार्टी एकता अन्तिम चरणमा पुगेको छ। एकीकृत समाजवादीका वार्ता कार्यदल संयोजक बेदुराम भुसालका अनुसार दुवै पक्षबीच अधिकांश विषयमा सैद्धान्तिक सहमति भइसकेको छ र अहिले दस्तावेज आदान–प्रदानको काम भइरहेको छ।

उनका अनुसार राष्ट्रिय सम्मेलन गरेर दल दर्ताको समयअघि, अर्थात् मंसिर १० गतेभन्दा अघि नै एकता घोषणा गर्ने तयारी भइरहेको छ। निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि मंसिर १० गतेसम्म दल दर्ताको समय तोकेको छ।

नयाँ पार्टीको नाम, सिद्धान्त र चुनाव चिह्न

भुसालका अनुसार एकतापछि बन्ने नयाँ पार्टीको मार्गदर्शक सिद्धान्त माक्र्सवाद–लेलिनवाद हुनेछ भने अन्तिम लक्ष्य वैज्ञानिक समाजवाद रहनेछ। संगठनात्मक संरचना जनवादी केन्द्रीयतामा आधारित हुने छ।

पार्टीको नामका रूपमा “नेकपा समाजवादी” राख्ने सम्भावना बढी रहेको उनले बताए। आयोगमा पहिले नै सो नाम दर्ता भएकाले त्यही नामलाई निरन्तरता दिने तयारी गरिएको हो।
‘पार्टीको नाम “नेकपा” मात्रै राख्ने, ब्राकेटमा माओवादी वा समाजवादी नथप्ने सोच छ,’ भुसालले स्पष्ट पारे। तर, चुनाव चिह्नबारे भने अझै टुंगो लागेको छैन।

बहुपदाधिकारी हटाउने निर्णय

एकता घोषणा पश्चात् बन्ने पार्टीमा बहुपदाधिकारी प्रणाली लागू नगर्ने सहमति भएको छ। भुसालका अनुसार अघिल्ला अनुभवका कारण अब पार्टीमा केवल अध्यक्ष र सहअध्यक्ष (वा संयोजक र सहसंयोजक) मात्र रहनेछन्।
‘पहिलेको जस्तो बहुपद बनाउँदा व्यवस्थापनमा कठिनाइ आएको थियो, त्यसैले अहिले त्यो प्रणाली नदोहोर्याउने निर्णय गरिएको हो,’ उनले बताए।

एकता पश्चात् एकता महाधिवेशन कहिले गर्ने भन्ने विषय भने अझै टुंगो लागिसकेको छैन। ‘अहिलेको प्राथमिकता राष्ट्रिय सम्मेलनमार्फत एकता घोषणा गर्ने हो,’ भुसालले स्पष्ट पारे।

विप्लवसँग एकता टाढिँदै

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासँग भने तत्काल एकताको वातावरण नबनेको भुसालले जानकारी दिए। विप्लवले राखेका तीन सर्तहरूका कारण सहमति कठिन बनेको उनको भनाइ छ।

‘विप्लवजीहरूले सरकारमा सहभागी हुने कुरा गर्नुभएको छ, जसले एकता प्रक्रियामा असर पारेको छ,’ उनले भने। विप्लव पक्षले नेतृत्व आफ्नो हुनुपर्ने र अहिलेको सरकारलाई राष्ट्रिय सरकार बनाएर त्यसमा सहभागी हुने प्रस्ताव गरेका छन्, जुन माओवादी र समाजवादी दुवै पक्षका लागि अस्वीकार्य देखिएको छ।

त्यस्तै, संविधान पुनर्लेखन गर्नुपर्ने माग पनि विप्लव पक्षको रहेको र अहिलेको राजनीतिक परिस्थितिमा त्यो सम्भव नदेखिएको भुसालले उल्लेख गरे।

अन्य वाम समूहसँग पनि छलफल

माओवादी र समाजवादीले अन्य वामपन्थी समूहहरूसँग पनि एकताको सम्भावनामा छलफल गरिरहेका छन्। ‘महेन्द्रराय यादव, प्रेमबहादुर सिंह, अशोक राईलगायत नेताहरूसँग कुराकानी भइरहेको छ,’ भुसालले बताए। ‘छठ पर्वपछि पुनः बैठक गर्ने तयारी छ।’

यदि औपचारिक एकता सम्भव नभए, वाम शक्तिहरूबीच चुनावी मोर्चाबन्दी बनाउने सहमति पनि देखिएको छ।
‘अशोकजीहरूले पनि एकता नभए मोर्चा बनाएर चुनावमा जाने सुझाव दिनुभएको छ,’ भुसालले बताए, ‘मोहन वैद्य र मोहन विक्रम सिंह पक्षसँग पनि त्यही धारणा मिलेको छ।’

उनका अनुसार, यस्तो मोर्चा केवल एकताका लागि मात्रै होइन, आगामी चुनावमा पनि साझा वाम गठबन्धनको रूपमा प्रस्तुत हुने सम्भावना रहेको छ।