अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा सात दिनमै ७ प्रतिशत गिरावट, अझै घट्ने संकेत

काठमाडौं । हालसम्म निरन्तर वृद्धि हुँदै नयाँ रेकर्ड तोड्दै आएको सुनको मूल्य एक सातामै उल्लेख्य दरले घटेको छ । अल्पकालीन लगानीकर्ताहरूले नाफा सुरक्षित (प्रोफिट बुक) गर्न थालेसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा तीव्र गिरावट आएको हो।

अन्तर्राष्ट्रिय राजनीतिक अस्थिरता तथा अमेरिका–चीनबीचको व्यापारिक तनाबका कारण सुनमा लगानी गर्ने रुचि बढ्दै गएको थियो। व्यक्तिगत तथा संस्थागत लगानीकर्ताका लागि सुन सुरक्षित लगानीका रूपमा स्थापित हुँदै गएपछि यसको मूल्य पनि लगातार उकालो लागिरहेको थियो। तर पछिल्लो एक सातामा मात्रै सुनको मूल्य ७ प्रतिशतभन्दा बढीले घटेको छ।

३० असोज (१६ अक्टोबर) मा सुनको मूल्य हालसम्मकै उच्च स्तरमा पुगेको थियो। त्यस दिन अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिआउन्स ४,३८१ अमेरिकी डलर थियो। त्यसयता निरन्तर घट्दै आएको मूल्य शुक्रबारसम्म ७.१६६ प्रतिशतले घटेर प्रतिआउन्स ४,०६४ डलरमा झरेको छ। एक आउन्समा २८.३४ ग्राम सुन हुन्छ।

नेपालमा भने सुनको कारोबार तोलामा हुने गर्छ, जहाँ एक तोला ११.६६४ ग्राम बराबर हुन्छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार ३१ असोजमा तोलाको मूल्य २ लाख ५८ हजार रुपैयाँ पुगेर हालसम्मकै उच्च स्तरमा पुगेको थियो। अन्तर्राष्ट्रिय बजारको मूल्य परिवर्तनको प्रभाव सामान्यतः नेपाली बजारमा एक दिन ढिलो देखिने भएकाले हालसम्म यसको असर सीमित मात्र रहेको छ।

अन्तर्राष्ट्रिय बजारमा घटबढ जारी रहँदा नेपालमा तोलाको मूल्य केही घट्दै २ लाख ५३ हजार रुपैयाँसम्म पुगेको छ। यद्यपि, दिपावली बिदाका कारण पछिल्ला दिनमा सुनको कारोबार रोकिएको हुँदा नयाँ मूल्य निर्धारण गरिएको छैन। कारोबार पुनः सुरु भएपछि अन्तर्राष्ट्रिय मूल्य अनुसार समायोजन गरिने व्यवसायी महासंघले जनाएको छ।

हालसम्मका विश्लेषण अनुसार, अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्नुका पछाडि अमेरिकी केन्द्रीय बैंकको ब्याजदर नीति, अमेरिका–चीन व्यापार सम्बन्धमा देखिएका सकारात्मक संकेत र लगानीकर्ताहरूको पूँजी डलर तथा धितोपत्र बजारतर्फ सर्ने प्रवृत्तिलाई मुख्य कारण मानिएको छ।

पहिले विदेशी मुद्रा सञ्चिति पर्याप्त भएका देशहरूले डलरको विकल्पका रूपमा सुनमा लगानी बढाएका थिए, जसले सुनको माग र मूल्य दुवै बढाएको थियो। तर, हाल उच्च मूल्य स्तरमा पुगेपछि लगानीकर्ताहरूले नाफा सुरक्षित गर्न थालेसँगै बजारमा आपूर्ति बढेको र त्यसको परिणामस्वरूप मूल्य घटेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विश्लेषकहरूका अनुसार, निकट भविष्यमा पनि सुनको मूल्यमा केही गिरावट जारी रहन सक्ने अनुमान गरिएको छ।