सुन तस्करी प्रकरणमा पूर्वसभामुख महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर

काठमाडौं । विद्युतीय चुरोट (भेप)मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका पूर्वसभामुख कृष्णबहादुर महराविरुद्ध काठमाडौं जिल्ला अदालतमा औपचारिक रूपमा मुद्दा दर्ता गरिएको छ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महरालाई आइतबार नियन्त्रणमा लिएको थियो। अनुसन्धानका लागि म्याद थप नगरी, जिल्ला सरकारी वकिलको कार्यालयले भन्सार छली र संगठित अपराध अन्तर्गत मुद्दा दर्ता गरेको हो।

महरा यसअघि पनि सोही प्रकरणमा २०८० चैत ५ गते पक्राउ परेका थिए। त्यसबेला बयान लिएर छोडिएको थियो। पहिलाको अनुसन्धानका आधारमा थप समय नलाग्ने निष्कर्ष निकाल्दै योपटक सिधै मुद्दा दर्ता गरिएको सरकारी वकिल कार्यालयले जनाएको छ।

यस प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि केही दिनअघि महराबाट बयान लिएको थियो।

९ किलो सुन भित्र्याइएको प्रकरणमा महराको नाम जोडियो

२०७९ पुस १० गते फ्लाई दुबईको उडानमार्फत नेपाल आएका चिनियाँ नागरिक लि हानसोङले दुईवटा सुटकेसभित्र लुकाएर ल्याएका ७३० थान विद्युतीय चुरोट (भेप) मा करिब ९ किलो सुन लुकाइएको थियो।

उक्त सुन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा रोकिएको थियो। तर, भन्सार छुटाउन महराले सम्बन्धित कर्मचारीलाई टेलिफोन गरेर दबाब दिएको अनुसन्धानबाट खुलेको छ। त्यस क्रममा महराका छोरा राहुल महरा पनि संलग्न रहेको देखिएको छ। उनी यसअघि नै पक्राउ परिसकेका छन्।

चिनियाँ तस्करसँग महरा र उनका छोराबीच भएको सम्पर्कको प्रमाण भेटिए पनि पहिलो चरणमा उनीहरूलाई प्रतिवादी नबनाई मुद्दा अगाडि बढाइएको थियो। हाल भने कृष्णबहादुर महरामाथि प्रत्यक्ष रूपमा मुद्दा दर्ता गरिएको छ, र अब अदालतबाट थप निर्णय आउनेछ।