मतदाता नामावलीमा जेनजी पुस्ताको चासो बढ्दो, अधिकांश २५ वर्षमुनिका युवाहरूले गरे नाम दर्ता
हेटौंडा । आगामी फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधिसभा निर्वाचनको तयारीसँगै जेनजी आन्दोलनले उत्पन्न गरेको राजनीतिक जागरणले २५ वर्षमुनिका युवाहरूलाई मतदाता नामावलीमा नाम दर्तातर्फ आकर्षित गरिरहेको छ।
राजनीतिक रूपमा निष्क्रिय देखिने गरेको युवा पुस्ता पछिल्लो समय भने आफ्नो मताधिकार प्रयोग गर्न उत्साहित बनेको छ। हेटौंडा–४ स्थित प्रदेश निर्वाचन कार्यालयमा दिनहुँ नाम दर्ता गराउन आउनेहरूको भीड बढिरहेको छ, जसमा अधिकांश १७ देखि २५ वर्ष उमेर समूहका छन्।
निर्वाचनमा उम्मेदवार छान्ने जिम्मेवारी आफूहरूले लिएको बताउने युवा प्रमित आचार्यले भने, “जेनजी आन्दोलनले बलिदानी दिएको यो निर्वाचनमा अब सही व्यक्तिलाई जिताउने जिम्मा हाम्रो पुस्ताको हो। पुराना अनुहारबाट केही हुन्न भन्ने महसुस भएको छ।”
जेनजी आन्दोलन र पछिल्ला राजनीतिक घटनाक्रमले युवाहरूमा राजनीतिक चेतना र मतदानको महत्त्वप्रति रुचि बढाएको छ। निर्वाचन अधिकारी हरि प्रसाद ढकालका अनुसार, मकवानपुरमा हालसम्म ६९७ जनाले नयाँ नाम दर्ता गराइसकेका छन्, जसमा ८० प्रतिशतभन्दा बढी २५ वर्षमुनिका छन्।
उनका अनुसार, “नाम दर्ता तथा अद्यावधिक प्रक्रिया अनलाइनमार्फत गर्न सकिने व्यवस्था भएपछि प्रक्रिया सहज र व्यवस्थित भएको छ।”
२०७९ को आम निर्वाचनमा मकवानपुरमा कुल ३ लाख २ हजार २४३ मतदाता थिए। हालसम्मको रुझान हेर्दा यो संख्या उल्लेख्य रूपमा बढ्ने निर्वाचन आयोगको अनुमान छ।
मकवानपुरका दुई प्रतिनिधि सभा क्षेत्रमध्ये क्षेत्र नं. १ मा ४० वटा वडा छन्, जहाँ १ लाख ५१ हजार २४१ मतदाता थिए। क्षेत्र नं. २ मा ६२ वडा छन्, जसमा १ लाख ५१ हजार २ मतदाता थिए।
कार्यालयमा भेटिएका युवाहरूको साझा धारणा भनेको पुराना दल र नेताहरूको कार्यशैलीप्रति मोहभंग भएको र अब नयाँ, सक्षम र जवाफदेही नेतृत्व रोज्ने हो। उनीहरूले आन्दोलनमा सहादत दिनेहरूप्रति सम्मान व्यक्त गर्दै अब त्यसको न्याय दिने जिम्मा आफ्नो पुस्ताले लिनुपर्ने बताएका छन्।
‘जेनजी आन्दोलन’ले देशको राजनीतिक सतहमा नयाँ पुस्तालाई निर्णायक शक्तिका रूपमा उभ्याउने संकेत दिएको छ। मतदाता नामावलीमा युवाहरूको चासो र सहभागिताले आगामी निर्वाचनमा युवा निर्णायक शक्ति बन्ने सम्भावना बलियो बनाएको छ।
