हर्क साम्पाङले मागे ‘माटोको ढिस्को’ चुनाव चिन्ह, आयोगले अध्ययनपछि निर्णय गर्ने
काठमाडौं । धरान उपमहानगरका मेयर हर्कराज साम्पाङले नयाँ राजनीतिक दल दर्ता गर्न निर्वाचन आयोगमा निवेदन दिएका छन्। ‘श्रम संस्कृति पार्टी’ नामक दलका लागि उनले आयोगमा भदौ ६ गते निवेदन पेश गरेका हुन्।
आयोग स्रोतका अनुसार, साम्पाङ आफैं अध्यक्ष रहने गरी दल दर्ताको प्रक्रिया अघि बढाइएको छ। उनले दलको चुनाव चिन्हका रूपमा ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन्।
निर्वाचन आयोगका एक अधिकारीका अनुसार दर्ता निवेदनमाथि राजनीतिक दलसम्बन्धी ऐन र नियमावलीअनुसार अध्ययन भइरहेको छ। आवश्यक कागजात पुगे/नपुगेको मूल्यांकनपछि मात्र निर्णय गरिने आयोगको भनाइ छ।
साम्पाङले २०७९ सालको स्थानीय चुनावमा ‘लौरो’ चुनाव चिन्ह लिएर स्वतन्त्र उम्मेदवारी दिएका थिए र उनी धरानका मेयरमा विजयी भएका थिए।
हालसम्म निर्वाचन आयोगमा दर्ता भएका १२२ राजनीतिक दलमध्ये ‘माटोको ढिस्को’ चुनाव चिन्ह कसैको नरहेकाले साम्पाङले प्रस्ताव गरेको चिन्ह स्वीकृत हुने सम्भावना उच्च रहेको आयोग स्रोतको अनुमान छ।
