दसैं बिदामा पनि आयल निगमका १३ डिपो सञ्चालनमा रहने

काठमाडौं । दसैंको सार्वजनिक बिदाका दिन पनि नेपाल आयल निगमका केही कार्यालय तथा डिपो खुला रहने भएका छन्। पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन निगमले १३ स्थानमा डिपो र कार्यालय खुला राख्ने निर्णय गरेको हो।

निगमका अनुसार स्थानीय आवश्यकता र इन्धनको खपतलाई मध्यनजर गर्दै कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रादेशिक कार्यालयहरू खुला रहनेछन्। साथै, धनुषा, चारआली, नेपालगञ्ज, वीरगन्ज, दाङ र दीपायलस्थित इन्धन डिपोहरू पनि सञ्चालनमा रहनेछन्।

दसैंका समयमा यात्रुहरूको आवागमन र सवारीसाधनको प्रयोग बढ्ने भएकाले इन्धनको माग उच्च हुने गरेको छ। त्यसलाई ध्यानमा राख्दै आवश्यक ठाउँमा नियमितरूपमा आपूर्ति सुनिश्चित गर्न निगमले पूर्वतयारी मिलाएको हो।