टीकाको दिनबाहेक अन्य दिन भन्सार जाँचपासका लागि बैंकिङ सेवा सञ्चालन गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले दशैंको बिदामा टीकाको दिन (असोज १६) बाहेक अन्य सबै दिन भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा यथावत् राख्न बैंक तथा वित्तीय संस्थाहरूलाई निर्देशन दिएको छ।

राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले आइतबार एक सूचना जारी गर्दै सो निर्देशन दिएको हो।

भन्सार विभागको अनुरोधका आधारमा केन्द्रीय बैंकले यो निर्णय गरेको हो। विभागले असोज ९ गते राष्ट्र बैंकलाई पत्राचार गर्दै व्यापार सहजीकरण, आपूर्ति प्रणालीको निरन्तरता र सेवा प्रवाह सहज बनाउन भन्सार जाँचपाससँग सम्बन्धित बैंकिङ सेवा सुचारु गरिदिन अनुरोध गरेको थियो।

त्यसअनुसार, राष्ट्र बैंकले दशैंको टीकाको दिनबाहेक अन्य सार्वजनिक बिदाका दिनहरूमा भन्सार जाँचपासका लागि आवश्यक बैंकिङ सेवा उपलब्ध गराउन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको छ।