‘हरिबहादुरको जुत्ता’ फिल्म जेनजी आन्दोलनसँग सन्देशमा मिल्दो : हरिवंश आचार्य
काठमाडौं, । यही असोज १३ गते (फूलपाती) बाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘हरिबहादुरको जुत्ता’ हाल प्रचारप्रसारमा व्यस्त छ। बिहीबार काठमाडौंमा आयोजित पत्रकार भेटघाटमा फिल्मका कलाकार तथा निर्माण टोलीले फिल्मका विषयवस्तु, सन्देश र सन्दर्भबारे चर्चा गरे।
चलचित्रका मुख्य अभिनेता हरिवंश आचार्यले फिल्मको कथावस्तु हालको जेनजी आन्दोलनका मागहरूसँग अनायासै मिल्न गएको बताएका छन्। “अहिलेको युवापुस्ताले उठाएका मागहरू नै चलचित्रको कथा जस्तै छन्,” उनले भने ।
आचार्यका अनुसार, फिल्मको कथा गत वर्ष नै लेखिएको हो र यसले सेन्सर प्रक्रिया पनि पहिले नै पार गरिसकेको छ। “यदि हामीले फिल्म दुई महिनापछि मात्र प्रदर्शन गरेका हुन्थ्यौं भने दर्शकले अहिलेको जेनजी आन्दोलनको असरमा फिल्म बनाएको भन्थे,” उनले भने, “तर फिल्म पहिले नै तयार भएकाले यसको कथावस्तु हरेकको मनमा गढेको विषय हो भन्ने प्रमाणित भएको छ।”
उनले जेनजी आन्दोलन र चलचित्रबीचको सम्बन्ध शुद्ध संयोग मात्र भएको बताए।
जेनजी आन्दोलनमा जुत्ता एक प्रतीक बनेको सन्दर्भमा बोल्दै हरिवंशले भने, “हाम्रो फिल्ममा पनि ‘जुत्ता’ प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। यस्तो संयोग आफैंमा गज्जबको बनेको छ।”
फिल्मले भ्रष्टाचार, नातावाद, सामाजिक अन्याय जस्ता गम्भीर विषयलाई कमेडी शैलीमा प्रस्तुत गरेको उनले बताए।
दीपेन्द्र के. खनालद्वारा निर्देशित फिल्ममा हरिवंश आचार्यसँगै स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की, हरिहर शर्मा, किरण केसी, राजाराम पौडेल, दिव्यदेव पन्त लगायतको अभिनय रहेको छ।
फिल्म एसएम मोसन पिक्चर्सको ब्यानरमा सरोज ओली र मोहितवंश आचार्यको निर्माणमा बनेको हो। छायांकन कृष्णबहादुर थापा, सम्पादन नहकुल खड्का, र संगीत निर्देशन वसन्त सापकोटा, दीपक शर्मा र प्रकाश सपुतले गरेका छन्।
