माओवादी केन्द्रका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरिने

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक सम्पन्न भएको छ। दुई दिनसम्म चलेको बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा पेश गरिएको प्रतिवेदन परिमार्जनसहित पारित गर्दै केन्द्रीय समितिलाई महाधिवेशन आयोजक समितिमा रूपान्तरण गर्ने निर्णय गरेको छ।

बैठकमा प्रचण्डले केन्द्रीय समिति भंग गरेर महाधिवेशनको तयारीका लागि नयाँ संरचना आवश्यक भएको भन्दै आयोजक समिति गठनको प्रस्ताव राखेका थिए, जुन बैठकले सर्वसम्मतिमा पारित गरेको नेता रहिश साहले जानकारी दिएका छन् ।

यस निर्णयसँगै माओवादी केन्द्र अब आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने तयारीमा जुटेको छ। तर, पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने महाधिवेशन आगामी फागुन २१ पछि गर्न उपयुक्त हुने सुझाव दिएका थिए।

अध्यक्ष प्रचण्डले आफू अध्यक्षबाट राजीनामा दिने र कार्यवहाक अध्यक्षको जिम्मेवारी पाउने प्रस्ताव पनि राखेका थिए। तर, उक्त प्रस्ताव अस्वीकृत भएको छ।

त्यस्तै, उपमहासचिव जनार्दन शर्माले हालका सबै पदाधिकारी हटाएर निर्देशक समितिमा रूपान्तरण गर्ने प्रस्ताव राखेका थिए, जुन प्रस्ताव पनि अस्वीकृत गरिएको छ।

तीनवटा प्रस्तावमाथि व्यापक छलफलपछि अध्यक्ष प्रचण्डले जवाफ दिँदै, उठेका सबै विषयलाई गम्भीर रूपमा लिने प्रतिबद्धता जनाए।

बैठकको क्रममा माओवादी नेताहरूको व्यक्तिगत र पारिवारिक सम्पत्तिसम्बन्धी छानबिनको माग उठेको थियो। सुदूरपश्चिम प्रदेशका प्रतिनिधि समूहले प्रस्तुत गरेको निष्कर्षमा, पार्टीका सबै नेताहरूको एकाघरको सम्पत्ति छानबिन गर्न आयोग गठन गर्नुपर्ने प्रस्ताव गरिएको थियो।

यस सन्दर्भमा प्रचण्डले प्रतिक्रिया दिँदै, “पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गरिनेछ” भन्ने स्पष्ट घोषणा गरेका छन्। उनले सम्पत्ति छानबिन आयोग गठन गरिने र त्यसमा पूर्व महालेखा परीक्षक वा स्वतन्त्र व्यक्तिहरूको सहभागिता रहने बताए ।