जेनजी आन्दोलनमा दमन गरिएकामाथि कारबाही हुन्छ, शासकीय प्रणालीमा तत्काल परिवर्तन असम्भव : प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा सरकारी पक्षबाट भएका दमनपूर्ण क्रियाकलापको छानबिन गरी दोषीमाथि कारबाही गर्ने सरकारको प्रतिबद्धता दोहोर्याएकी छन् ।
बिहीबार राष्ट्रका नाममा सम्बोधन गर्दै, उनले जेनजी आन्दोलनमा भएको मानवीय क्षति प्रति दुःख व्यक्त गर्दै यसबारे निष्पक्ष छानबिनपछि जिम्मेवार पक्षलाई कानुनी दायरामा ल्याइने बताइन्।
“सरकारबाट भएको दमनका घटनाको छानबिन गरी दोषीमाथि कारबाही हुन्छ,” प्रधानमन्त्री कार्कीले स्पष्ट गरिन्, “यस विषयमा सरकार पूर्ण रूपमा प्रतिबद्ध छ।”
शासकीय प्रणालीमा तत्काल परिवर्तन असम्भव
जेनजी आन्दोलनकारीहरूले उठाएको प्रत्यक्ष निर्वाचित कार्यकारी प्रणालीको मागलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले हालको सरकारको कार्यक्षेत्रभित्र त्यस्तो व्यवस्था गर्नु सम्भव नभएको स्पष्ट पारेकी छन्।
“शासकीय प्रणालीको संशोधन अहिलेको सरकारको कार्यक्षेत्रमा पर्दैन,” उनले भनिन्, “यदि आवश्यक ठानिन्छ भने संविधान संशोधनको विषय संवैधानिक प्रक्रियाबाटै अघि बढाउनुपर्छ।”
युवाहरूले प्रणाली नबदले अर्को चरणको आन्दोलन हुने चेतावनी दिइरहँदा प्रधानमन्त्रीको यस्तो अभिव्यक्ति आएको हो।
वैदेशिक रोजगारमा रहेका नेपालीलाई मतदानको सम्भावना
सम्बोधनका क्रममा प्रधानमन्त्री कार्कीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई विदेशबाटै मतदान गर्न सक्ने व्यवस्थाबारे छलफल भइरहेको जानकारी दिइन्।
“रोजगारीको सिलसिलामा विदेशमा रहेका नेपाली नागरिकलाई मतदान गर्नसक्ने सम्भावनाबारे नेपाल सरकारले निर्वाचन आयोगसँग छलफल गरिरहेको छ,”
प्रधानमन्त्री कार्कीले भनिन्।
उनले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको हकहित संरक्षण र मर्यादित रोजगारीको प्रत्याभूति सुनिश्चित गर्न सरकार प्रतिवद्ध रहेको पनि बताइन्।
प्रधानमन्त्री कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन सबै नागरिकहरूलाई आग्रह गरेकी छन्।
“योग्य जनप्रतिनिधिको चयनका लागि निर्वाचनमा सहभागी हुन सबैलाई आह्वान गर्न चाहन्छु,” उनले राष्ट्रका नाममा सम्बोधन गर्दै भनिन्।
