शिक्षामन्त्री पुनको निर्देशन : “मन्त्रालयमै सुत्छु, खाट र किचेनको व्यवस्था गरिदिनुहोस्”
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री महावीर पुनले आफूलाई सरकारी क्वाटर आवश्यक नरहेको बताएका छन्। पदभार ग्रहणपछि पत्रकारसँग कुरा गर्दै उनले मन्त्रालयमै सुत्ने योजना रहेको जनाएका हुन्।
पुनले भने, “मेरो बानी जहाँ काम गर्छु, त्यहीँ बस्ने हो। मन्त्रालयमै एउटा कोठा बनाइदिनुहोस्। एउटा खाट, कुर्सी र किचन चाहियो, आफैं पकाएर खान्छु।”
उनले आफूले विगतमा नेतृत्व गर्दै आएको आविष्कार केन्द्रबाट राजीनामा दिइसकेको जानकारी पनि दिए। “यो पद ग्रहण गरेपछि म आविष्कार केन्द्रमा रहनु हुँदैन, त्यसैले राजीनामा दिइसकेको छु,” पुनको भनाइ थियो।
पत्रकारले “सरकारी क्वाटर नहुँदा कहाँ बस्ने?” भन्ने प्रश्न गर्दा पुनले मन्त्रालयमै बस्ने निर्णय सुनाएका हुन्।
सुरक्षाकर्मी पनि नचाहिने, मन्त्रालय बाहिर पछ्याउन नपर्ने
मन्त्री पुनले आफूलाई अतिरिक्त सुरक्षा पनि आवश्यक नरहेको बताएका छन्। मन्त्रालय आउँदा साथमा एक जना प्रहरी र एक जना सैनिक सुरक्षाकर्मी आएको भन्दै उनले उनीहरूलाई पनि रिपोर्ट गरेर फिर्ता जान भनेको बताए।
उनले भने, “सेवा सुविधा के रहेछ भने आउँदा एउटा पुलिस र एउटा आर्मी रहेछ। मैले भाइहरूलाई भनेको छु – रिपोर्ट गर्नु कमाण्डरलाई। म मन्त्रालयमा हुँदा यहीँ बस्छु, बाहिर निस्किएपछि पछिपछि आउनु पर्दैन।”
सिर्फ औपचारिक कामका लागि गाडी प्रयोग
पुनले मन्त्रालयको सवारीसाधनलाई केवल औपचारिक कामका लागि मात्र प्रयोग गर्ने बताएका छन्। उनका अनुसार सरकारी स्रोतसाधनको प्रयोग आवश्यकताअनुसार र सीमित रूपमा गरिनेछ।
