‘परान’ को नयाँ पोस्टर सार्वजनिक, नीर शाह गम्भीर अवतारमा

काठमाडौँ । निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को निर्देशनमा बनेको बहुप्रतीक्षित नेपाली फिल्म ‘परान’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। सोमबार सार्वजनिक गरिएको पोस्टरमा वरिष्ठ अभिनेता नीर शाह प्रमुख रूपमा देखिएका छन्।

यसअघि सार्वजनिक पोस्टरहरूमा कलाकार महेश त्रिपाठी र अञ्जना बराईलीलाई समेटिएको थियो भने पछिल्लो पोस्टरमा भने नीर शाह एक्लै देखिएका छन्। शंख फुक्दै गरेका उनको यो चित्रले कथा धार्मिक, सांस्कृतिक वा परम्परागत रीतिरिवाजसँग गाँसिएको संकेत गर्छ। पोष्टरमा उनको अनुहारमा देखिएको गम्भीरता र जीवनअनुभवले दर्शकमा कौतुहलता थपेको छ।

फिल्मको ट्यागलाइन ‘सासले होइन, साथले चल्ने’ रहेको छ, जसले सम्बन्ध र साथको मूल्यलाई फिल्मको मूल सन्देशको रूपमा प्रस्तुत गर्ने देखिन्छ। अनुभवी कलाकार नीर शाहलाई केन्द्रीय भूमिकामा प्रस्तुत गरिएकोले फिल्म गहिरो कथावस्तु र सशक्त अभिनययुक्त हुने अपेक्षा गरिएको छ।

‘परान’ को निर्माण गोल्छा समूह र प्रिज्मा समूहको साझेदारीमा स्थापना गरिएको बाइस्कोप सिनेमा प्रालिले गरेको हो। बाइस्कोपको एकल ब्यानरमा निर्माण भएको यो पहिलो प्रोजेक्ट हो।

फिल्मको कथा निर्देशक दीपक आचार्यकै रहेको छ भने पटकथा तथा संवाद यम थापाले लेखेका हुन्।

फिल्ममा नीर शाहसँगै मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, प्रवीण खतिवडा, बुद्धि तामाङ, पूजा चन्द, यासेली योङहाङ, बबिन राई, पुष्पराज ओझा, सीमा काफ्ले, दमन रुपाखेती, यमन श्रेष्ठ, सुब्रतराज आचार्य, सुरेश थापा, बिनोद राई र बाल कलाकार आर्यादीप आचार्य लगायतका कलाकारहरूको अभिनय रहनेछ।

फिल्ममा निर्देशक आचार्यका शब्दमा रिदम कँडेलले संगीत भरेका छन्। गीतहरूमा प्रमोद खरेल, पुष्पन प्रधान र रचना रिमाल लगायतका गायिक–गायकको स्वर समावेश गरिएको छ।

फिल्मका प्रोडक्सन म्यानेजर अनिष अधिकारी र समर चौलागाई हुन् भने कार्यकारी निर्माता अजय उपाध्याय रहेका छन्।

‘परान’ आगामी तिहारपछिको कार्तिक १४ गते (अक्टोबर ३१) देखि देशभर प्रदर्शनमा आउने छ। निर्माण टिमले फुलपातीको अघिल्लो दिन आइतबार फिल्ममा समावेश एक गीत सार्वजनिक गर्ने योजना पनि बनाएको छ।