नवनियुक्त ४ मन्त्रीले लिए शपथ, कुन मन्त्रालयको जिम्मा कसलाई ?

काठमाडौँ । नवनियुक्त ४ मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति भवन शीतल निवासमा आयोतिज कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरुलाई शपथ खुवाएका हुन् ।

मन्त्रीको शपथ खानेहरूमा सर्वोच्च अदालतका पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, वैज्ञानिक महावीर पुन, राज्य पुनर्संरचना आयोगका पूर्वसंयोजक मदन परियार र पत्रकार जगदीश खरेल छन् ।

सिन्हाले उद्योग, वाणिज्य तथा आपुर्ति, कानुन, न्याय तथा संसदीय मामिला र भूमि व्यवस्था तथा गरिबी निवारण, पुनले शिक्षा, विज्ञान तथा प्रविधि, परियारले कृषि तथा सहकारी र खरेलले सञ्चार, सूचना तथा प्रविधि मन्त्रीको रुपमा शपथ लिएका हुन् ।

यसअघि नै अर्थमन्त्रीमा रामेश्वर खनाल, ऊर्जामन्त्रीमा कुलमान घिसिङ र गृहमन्त्रीमा ओमप्रकाश अर्याल नियुक्त भइसकेका छन् । सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार आठ सदस्यीय बनेको छ ।