४५ घण्टापछि नारायणगढ–मुग्लिन सडक आंशिक सञ्चालनमा, एकतर्फी रूपमा खुलेको सडक

चितवन । पहिरोका कारण ४५ घण्टासम्म अवरुद्ध बनेको नारायणगढ–मुग्लिन सडक खण्ड आइतबार अपराह्नदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार तुइन खोलामा गएको पहिरो पन्छाएपछि करिब सवा ४ बजेबाट सडक आंशिक रूपमा सुचारु गरिएको हो।

शुक्रबार बेलुकी ६ बजे तुइन खोला आसपासमा ठूलो पहिरो खस्दा सडक पूर्ण रूपमा बन्द भएको थियो। त्यसका कारण सयौँ सवारी साधन बाटोमै रोकिएका थिए र यात्रुहरू लामो समय अलपत्र परेका थिए ।

हाल एकतर्फी रूपमा सवारी सञ्चालन सुरु भएपछि रोकिएका गाडीहरू गन्तव्यतर्फ गइरहेका छन्। यद्यपि सडक पूर्ण रूपमा सञ्चालनमा ल्याउन अझै प्रयास जारी रहेको छ।

सडक डिभिजन कार्यालय भरतपुरका अनुसार डोजर, रोलरलगायतका उपकरणको प्रयोग गरी दुबैतर्फ यातायात सुचारु गराउने काम तीव्र गतिमा भइरहेको छ। मौसम र भू-संरचनाको अवस्थालाई मध्यनजर गर्दै सावधानीपूर्वक बाटो खुलाउने प्रयास भइरहेको जनाइएको छ।