२५ हजार मिसिलमध्ये ३ हजार मात्रै सुरक्षित, सर्वोच्च अदालतका रजिस्ट्रार भन्छन्– ‘न्यायको दीप निभेको छैन’
काठमाडौँ । सर्वोच्च अदालतका मुख्य रजिस्ट्रार विमल पौडेलले अदालत जले पनि न्यायको दीप निभ्न नदिने अठोटसहित काम अघि बढिरहेको बताएका छन् ।
आइतबार संवैधानिक तथा न्यायिक पत्रकार मञ्चले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले राष्ट्रकै तीनवटै निकाय (व्यवस्थापिका, कार्यपालिका र न्यायपालिका) आगोले क्षतिग्रस्त भएको बेलामा पनि अदालतले न्यूनतम सेवा निरन्तर दिइरहेको बताए।
उनका अनुसार अदालतमा रहेका करिब २५ हजार मिसिलमध्ये केवल ३ हजार मात्रै सुरक्षित अवस्थामा फेला परेका छन्। बाँकी २२ हजार मिसिलको खोज तथा पुनःप्राप्तिका लागि बार एसोसिएसन र महान्यायाधिवक्ताको कार्यालयसँग सहकार्य गर्ने तयारी भइरहेको उनले जानकारी दिए।
रजिस्ट्रार पौडेलले भने, “न्यायको दीप निभेको छैन। २९ गतेदेखि हामीले नियमित सेवा सुरू गरिसकेका छौँ, देशभरका अदालतहरूले न्यूनतम सेवा प्रदान गरिरहेका छन्।”
उनले सर्वोच्च अदालतको इजलासहरू पालमुनि सञ्चालन हुनु दुःखद र विडम्बनापूर्ण अवस्था भएको उल्लेख गर्दै न्याय सम्पादनका लागि मनोबल उच्च राख्नुपर्ने आवश्यकता औंल्याए। साथै, सर्वोच्च अदालतको आईटी सर्भर पुनःस्थापना गरी पूर्ववत् सेवा सञ्चालनको तयारी पनि भइरहेको जानकारी गराए।
