राष्ट्रपतिसामु अख्तियार प्रमुखको प्रतिबद्धता — “भ्रष्टाचार नियन्त्रणमा दृढ छु”

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम राईले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोगले पाएको संवैधानिक जिम्मेवारी प्रभावकारी रूपमा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई आयोगको ३५औं वार्षिक प्रतिवेदन बुझाउने क्रममा प्रमुख राईले राष्ट्रहितमा निर्भीक, निष्पक्ष र तटस्थ रूपमा काम गर्ने अठोट दोहोर्याएका हुन्।

“भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि आयोग दृढतापूर्वक अघि बढेको छ,” राष्ट्रपति समक्षको मन्तव्य उद्धृत गर्दै आयोगले जनाएको छ। राईले राज्यको नीति र उद्देश्य कार्यान्वयनमा निष्पक्षता र निडरताका साथ आयोग प्रतिबद्ध रहेको पनि बताए।

उनले सुशासन प्रवर्द्धनका प्रयासमा सरकारका तीनै तह, गैरसरकारी तथा निजी क्षेत्र, सञ्चारकर्मी, नागरिक समाज, अन्तर्राष्ट्रिय समुदाय र साधारण नागरिकहरूबाट प्राप्त सहयोग र ऐक्यवद्धताप्रति आयोग परिवारको तर्फबाट आभार पनि व्यक्त गरे।

शितल निवासमा आयोजित सो कार्यक्रममा राष्ट्रपति पौडेलले आयोगले संविधानअनुसारको जिम्मेवारी निर्वाह गर्दै देशमा सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा पुर्‍याएको योगदानप्रति धन्यवाद ज्ञापन गरे।

उनले लोकतन्त्रको आधार जवाफदेहितापूर्ण शासन भएको उल्लेख गर्दै आयोगले थप प्रभावकारी रूपमा काम गर्न, कुनै दबाव वा प्रभावमा नपरी स्वतन्त्र रूपमा अनुसन्धान र अभियोजन गर्नुपर्ने आवश्यकता पनि औंल्याए।

राष्ट्रपतिले आम नागरिकको अपेक्षा र शासन प्रणालीको आवश्यकतालाई ध्यानमा राखी आयोगले निष्पक्ष र निडरतापूर्वक आफ्नो भूमिकामा अझ सशक्त भएर उभिनुपर्ने सुझाव दिएका छन्।