राष्ट्रपतिका अडानले देश केही दुर्घटनाबाट जोगिएको छ : एमाले उपमहासचिव ज्ञवाली

काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले राष्ट्रपति रामचन्द्र पौडेलका केही अडानहरूले देशलाई सम्भावित राजनीतिक दुर्घटनाबाट जोगाएको बताएका छन् ।

आइतबार काठमाडौंमा प्रगतिशील लेखक संघ, नेपालद्वारा आयोजित कार्यक्रममा बोल्दै ज्ञवालीले देशमा संविधान र गणतन्त्रविरोधी तत्वहरू सक्रिय रहेको उल्लेख गर्दै चुनाव नहुने वातावरण सिर्जना गरेर व्यवस्था समाप्त पार्ने षड्यन्त्र भइरहेको दाबी गरे।

उनले भने, “यी सबै प्रयासहरूको अन्तिम लक्ष्य संविधान खारेज र गणतन्त्र समाप्त गर्ने नै हो। यस्ता संवेदनशील घडीमा राष्ट्रपतिज्यूका केही अडानले देशलाई तुरुन्तै हुने सक्ने दुर्घटनाबाट बचाएको छ। त्यसका लागि उहाँलाई धन्यवाद दिन चाहन्छु।”

ज्ञवालीले आगामी दिनहरू कस्ता हुनेछन् भन्न गाह्रो भए पनि, चुनाव समयमै नहुँदा मुलुकलाई रिक्तताको स्थितिमा लैजाने प्रयास हुने संकेत दिए। उनका अनुसार, चुनाव रोक्न सफल भए संविधान र गणतन्त्र समाप्त पार्न खोज्नेहरू आफ्नो लक्ष्यमा पुग्ने छन्।

कार्यक्रममा बोल्दै उनले हाल देखिएका जेनजी अभियन्ताहरू अन्यको चलखेलमा परेर “रनभुल” मा परेको जिकिर गर्दै भने, “उनीहरूले सुरु कहाँबाट गरे, स्थिति कहाँ पुग्यो — बुझ्न सक्नुपर्छ। उनीहरू यहीँ रोकिन चाहँदैनन्।”

ज्ञवालीले वर्तमान राजनीतिक दलहरूलाई पन्छ्याएर चुनाव गर्न खोजिए पनि त्यो सम्भव नहुने स्पष्ट पारे। “कसैले यस्तो अवस्था सिर्जना गर्ने कोसिस गर्छ, जहाँ चुनाव हुन नहोस्, प्रधानमन्त्रीलाई चुनाव गराउन नसक्ने भन्दै हटाइयोस्, रिक्तता सिर्जना गरेर त्यही भित्र राजनीतिक खेल खेलियोस् — यस्तो खतरा देखिन्छ,” उनले चेतावनी दिए।

उनका अनुसार, संविधानको रक्षा र गणतन्त्रको स्थायित्वका लागि संविधानप्रेमी शक्तिहरू एकजुट भएर मुलुकलाई सही मार्गमा ल्याउनुपर्ने आवश्यकता अझ गहिरो बनेको छ।