सीके राउतलाई नेतृत्व छोड्न २४ घण्टे अल्टिमेटम, जनमतका शीर्ष नेताहरूको सामूहिक दबाब

काठमाडौं । जनमत पार्टीका वरिष्ठ पदाधिकारी र नेताहरूले पार्टी अध्यक्ष सीके राउतलाई नेतृत्वबाट अलग हुन २४ घण्टे अल्टिमेटम दिएका छन् ।

वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता शरदसिंह यादव, जनमत युवा संघका संयोजक सञ्जयकुमार यादवसहित ६ जना नेताले सामूहिक हस्ताक्षरसहितको वक्तव्य जारी गर्दै नेतृत्व परिवर्तनको माग गरेका हुन्। उनीहरूले नेतृत्व परिवर्तन भएमा पार्टीलाई अझ सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी संस्थाको रूपमा रूपान्तरण गर्न आफूहरू एकजुट भएर लाग्ने बताएका छन्।

उनीहरूको भनाइमा, जेन जी नेतृत्वमा भएको आन्दोलनले देशको राजनीतिमा ऐतिहासिक मोड ल्याएको छ। सो आन्दोलनले सत्तारूढ गठबन्धन, प्रधानमन्त्री, गठबन्धनका शीर्ष नेता र प्रमुख प्रतिपक्षी दलको अकर्मण्यता र अनियमितताप्रति गम्भीर प्रश्न उठाएको पनि उल्लेख गरिएको छ।

सीके राउतलाई सम्बोधन गरिएको पत्रमा भनिएको छ, “देशको राजनीतिक, सामाजिक र प्रशासनिक प्रणालीमा व्यापक शुद्धीकरणको आवश्यकता तीव्र रूपमा महसुस भइरहेको छ। यस्तो अवस्थामा जनमत पार्टीले पनि आत्मसमीक्षा गर्दै परिवर्तनको मार्ग अवलम्बन गर्नु अत्यावश्यक भएको छ।”

यसबाहेक, नेताहरूले पछिल्लो समय पार्टी नेतृत्वको कार्यशैली कमजोर रहेको, निर्णय प्रक्रियामा पारदर्शिता नदेखिएको र जनभावनासँग विमुख गतिविधिहरू भएको आरोप लगाएका छन्। जनताको विश्वासले पार्टी राष्ट्रिय मान्यता पाउन सफल भए पनि त्यस अनुरूपको काम नभएको उनीहरूको ठहर छ।