राष्ट्रिय वाणिज्य बैंकबाट १८ किलो सुन र ५ करोड नगद लुटियो : गभर्नर पौडेल
जेन जी आन्दोलनको समयमा बैंकको शाखामा गम्भीर लुटपाट
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर विश्व पौडेलले जेन जी आन्दोलनको क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट १८ किलो सुन र ५ करोड रुपैयाँ नगद लुटिएको खुलासा गरेका छन् ।
एक पडकास्टमा बोल्दै गभर्नर पौडेलले संसद् भवनभित्र रहेको बैंकको उक्त शाखाबाट करिब ३८ करोड रुपैयाँ बराबरको सुन र नगद लुटिएको जानकारी दिएका हुन्। “संसद् भवनमा रहेको शाखाबाट ५ करोड नगद र १८ किलो सुन लुटिएको छ,” गभर्नर पौडेलले भने, “यो निकै गम्भीर लुटपाट हो।”
उनका अनुसार बैंकको सिसिटिभी फुटेजको आधारमा अहिले अनुसन्धान जारी छ। आन्दोलनका बीच पनि राष्ट्र बैंकको प्राथमिकता देशको पेमेन्ट प्रणालीलाई संचालनमा राख्नेमा केन्द्रित रहेको उनले स्पष्ट पारे।
गभर्नर पौडेलका अनुसार आन्दोलनका क्रममा ६८ वटा बैंक शाखा कार्यालयहरूमा आक्रमण भएको थियो भने ६९ वटा एटीएमहरूमा पनि केही असर परेको थियो। तर समग्रमा बैंकिङ प्रणाली र पेमेन्ट सिस्टमहरू सुरक्षित राख्न सफल भएको राष्ट्र बैंकको दाबी छ।
