निजी क्षेत्रको मनोबल घट्न दिँदैनौं, टुक्रे योजना अब लागू हुँदैन : अर्थमन्त्री खनाल

काठमाडौं । नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रलाई निराश हुन नदिइने प्रतिबद्धता जनाएका छन्।

सोमबार अर्थ मन्त्रालयमा पदभार ग्रहण गरेपछि उनले निजी क्षेत्रसँग सहकार्य गर्दै अर्थतन्त्रलाई स्थायित्वमा लैजाने योजना प्रस्तुत गरे। “निजी क्षेत्रको मनोबल उच्च राख्दै, हिजोभन्दा भिन्न कामको अनुभूति गराउने गरी अघि बढ्नेछौं,” मन्त्री खनालले भने।

उनले सरकारी कार्यशैलीमा पारदर्शिता र सादगी कायम गरिने स्पष्ट पारे। “व्यक्तिगत कामका लागि मसँग घरमा कोही नआउनुस्,” उनले आग्रह गर्दै, कुनै अतिरिक्त सुविधा नलिने घोषणा पनि गरे। “म आफैं गाडी चलाएर राष्ट्रपतिकहाँ गएको थिएँ,” उनले उदाहरण दिँदै भने।

राजस्व संकलनमा कुनै पनि हालतमा कमी आउन नदिने अडानसमेत उनले दोहोर्याए।

पदभार ग्रहणसँगै मन्त्री खनालले पूर्वतयारीबिना अघि बढाइने ‘टुक्रे योजना’हरूको कार्यान्वयन नगर्ने निर्णय सुनाए।

“अबको प्राथमिकता युवाहरूका माग सम्बोधन गर्नु र तोकिएको समयमै निर्वाचन सम्पन्न गर्नु हो,” उनले भने, “त्यसैले अनावश्यक खर्च नियन्त्रण गर्न यस्तो निर्णय लिइएको हो।”

खनालले हालको परिवर्तन करिब १०० युवाको बलिदानबाट सम्भव भएको भन्दै त्यो बलिदानको सम्मान गर्दै जिम्मेवारीपूर्वक काम गर्नुपर्ने आवश्यकता औंल्याए।

“हामी अहिले फरक भूमिकामा छौं, तर ती युवाले हामीलाई ठूलो जिम्मेवारी दिएका छन्,” उनले भने, “भ्रष्टाचार अन्त्य हुनैपर्छ – यो मेरो होइन, सम्पूर्ण राष्ट्रको एजेन्डा हो।”

उनले गल्ती गर्नेहरूलाई अब माफ नहुने स्पष्ट गर्दै भने, “चाहे जानेर होस् वा नजानेर, गल्तीको छुट अब छैन। हामी सबै सच्चिनुपर्छ।”

खनालले आगामी ६ महिनाभित्र निर्वाचन सम्पन्न गर्नु अनिवार्य रहेको बताए। साथै, सिंहदरबारसहित सार्वजनिक सम्पत्तिको पुनर्निर्माणलाई तत्काल अगाडि बढाउनुपर्नेमा उनले जोड दिए।

सार्वजनिक सम्पत्तिको बीमा नहुनु दुर्भाग्यपूर्ण भएको भन्दै उनले भविष्यमा यस्ता जोखिमबाट जोगिन नीति निर्माण गरिने बताए। “धेरैजसो बोझ सरकारकै काँधमा पर्छ, त्यसैले अब सचेत भएर, योजनाबद्ध तरिकाले अघि बढ्नुपर्छ,” उनले निष्कर्ष दिएका छन्।