जेनजी आन्दोलनमा ज्यान गुमाउनेलाई सहिद घोषणा, परिवारलाई १५ लाख राहत

जेनजी जागरण स्मारक पार्क निर्माणका लागि ठाउँ खोजिने

काठमाडौँ । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा ज्यान गुमाउनेहरूलाई सरकारले सहिद घोषणा गर्ने निर्णय गरेको छ। मन्त्रिपरिषद् विस्तारपछि बसेको पहिलो बैठकले यस्तो निर्णय गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले जानकारी दिएका छन्।

उनका अनुसार मृतकहरूलाई राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिनेछ भने असोज १ गते शोक दिवसका रूपमा मनाइनेछ।

सरकारले ज्यान गुमाउनेका परिवारलाई १५ लाख रुपैयाँ राहत दिने निर्णय पनि गरेको छ। यसअन्तर्गत पहिले नै दिइँदै आएको १० लाख रुपैयाँ र थप ५ लाख रुपैयाँ अन्य खर्च वापत प्रदान गरिनेछ।

यो राहत रकम अर्थमन्त्रालयमार्फत निकासा गरी सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत वितरण गरिनेछ। यदि मृतक दुर्गम जिल्लाबाट भएको खण्डमा हवाई तथा यातायात खर्च पनि सरकारले नै व्यहोर्ने निर्णय गरिएको छ।

सरकारले आन्दोलनमा घाइते भएकाहरूको निःशुल्क उपचार जारी राख्ने निर्णय गरेको छ। साथै, आन्दोलनका क्रममा भएको भनिएको दमनबारे छानबिन गर्न न्यायिक जाँचबुझ आयोग गठन गर्ने निर्णय पनि आजकै बैठकले गरेको छ।

‘अघिल्लो मन्त्रिपरिषद्मा निर्णयका लागि पेश भएको प्रस्तावहरू सम्बन्धित मन्त्रालयमा फिर्ता पठाउने निर्णय भएको छ,’ गृहमन्त्री अर्यालले जानकारी दिए ।

जेनजी जागरण स्मारक पार्क निर्माणको तयारी

सरकारले ज्यान गुमाएकाहरूको स्मरणमा ‘जेनजी जागरण स्मारक पार्क’ निर्माण गर्ने योजना अघि बढाएको छ। पार्क निर्माणका लागि उपयुक्त स्थान खोज्ने प्रक्रिया सुरु गरिने गृहमन्त्री अर्यालले जानकारी दिए।

उनले भने, “यो आन्दोलनको बलिदानलाई राष्ट्रिय स्मृतिमा रूपान्तरण गर्न स्मारक निर्माण आवश्यक छ। त्यसका लागि ठाउँ छान्ने काम चाँडै सुरु हुनेछ।”