एमालेको मूल्यांकन : कांग्रेस उदारवादी बुर्जुवा, रास्वपा क्षणिक तरंग, माओवादी प्रतिस्पर्धाबाट बाहिरिसक्यो

काठमाडौँ । नेकपा एमालेले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा माओवादी केन्द्रमाथि तीखा टिप्पणी गरेको छ। ललितपुरको गोदावरीमा शुक्रबारदेखि सुरु भएको दोस्रो विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा एमालेले तीनै दलको आलोचना गर्दै स्पष्ट वैचारिक सीमांकनसमेत गरेको छ ।

कांग्रेस : ‘उदारवादी बुर्जुवा’, असफल नेतृत्व

राजनीतिक दस्तावेजमा एमालेले नेपाली कांग्रेसलाई उदारवादी पुँजीवादी (बुर्जुवा) शक्ति को रूपमा चित्रित गर्दै विगतदेखि नै यथास्थितिवादी सोचमा अडिएको आरोप लगाएको छ। २०६२/६३ को जनआन्दोलनलाई वामपन्थी र उदारवादी वर्गको संयुक्त नेतृत्वमा सम्पन्न भएको भन्दै त्यसले आफैँमा सीमितता बोकेको ठहर गरेको छ।

एमालेको विश्लेषणमा कांग्रेसले विगतमा संसद पुनर्स्थापनामै सीमित रहँदै परिवर्तनलाई संकुचित बनाउन खोजेको, दमनकारी शासनशैली अवलम्बन गरेको र राज्यका संरचनात्मक अङ्गमा आवश्यक लोकतान्त्रिक रुपान्तरण गर्न नसकेको उल्लेख छ।

दस्तावेजमा भनिएको छ — “क्रान्ति श्रमजीवी र पुँजीपति वर्गको सह-नेतृत्वमा सम्पन्न भएको हो। अब कुन वर्गले श्रेष्ठता हासिल गर्छ भन्ने कुराले मुलुकको दिशा तय गर्नेछ।”

एमालेले कांग्रेसको नवउदारवादी आर्थिक नीतिलाई समृद्धिको मार्गप्रति अनुपयुक्त ठहर गर्दै त्यसले अब मुलुकको नेतृत्व गर्न नसक्ने निष्कर्ष निकालेको छ।

रास्वपा : ‘तलाउको तरंग, क्षणिक उदय’

एमालेले रास्वपालाई अस्थायी राजनीतिक तरंगको संज्ञा दिएको छ। उसले रास्वपा जस्ता नयाँ शक्तिहरूलाई समाजमा व्याप्त असन्तुष्टि र राजनीतिक विकृतिको परिणाम भएको भन्दै पपुलिज्मको उपज भनेको छ।

“रास्वपाका हातमा प्रश्नहरू छन्, तर उत्तर छैन। समस्याको चाङ छ, तर समाधानको दिशा छैन। न वैचारिक स्पष्टता, न ऐतिहासिक योगदान, न वर्गीय आधार, न लक्षित समूह।”

एमालेको ठहरमा रास्वपा स्थायित्वको अभाव, नीतिगत अस्पष्टता र वैचारिक दिशाविहीनताका कारण अवश्य सेलाउने छ।

राप्रपा : ‘धर्मको हतियार, सामन्ती सोच’

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र अन्य राजावादी धारहरूलाई एमालेल‍े धर्मलाई हतियार बनाउने प्रयास गरेको आरोप लगाएको छ। दस्तावेजमा राजतन्त्रको पुनर्स्थापना र हिन्दु राष्ट्रको एजेन्डालाई लोकतान्त्रिक मूल्य–मान्यताको प्रतिकूल ठहर गरिएको छ।

“जन्मजात श्रेष्ठताको सामन्ती सोच र संविधान विरोधी गतिविधि स्वीकार्य हुन सक्दैन।”

एमालेले राजावादी समूहहरूलाई संविधान र कानुनको अवज्ञा गर्दै अराजकता फैलाउने प्रयास गरिरहेको बताएको छ।

माओवादी केन्द्र : ‘विचारहीनता, अवसरवाद र पतन’

नेकपा माओवादी केन्द्रप्रति एमालेको टिप्पणी झन् कडा छ। उसले माओवादीलाई मुलुकको वैचारिक तथा राजनीतिक नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिसकेको शक्ति भन्दै निष्कर्ष निकालेको छ।

“प्रचण्डपथ निर्जन बाटोतिर हराइसकेको छ। आज माओवादी ट्याग नै भार भएको छ। जातीय राज्य, सेनामा समूहगत समायोजन, सत्ता कब्जाजस्ता प्रायः सबै प्रयोग असफल भएका छन्।”

एमालेको मूल्यांकनमा माओवादी केन्द्र लगातार अस्थिरता, विभाजनकारी सोच, अवसरवाद र भ्रष्टाचारले ग्रस्त हुँदै गएको छ। हङ पार्लियामेन्टको लाभ लिइरहे पनि माओवादी अब नेतृत्वको वैचारिक प्रतिस्पर्धाबाट बाहिरिइसकेको बताइएको छ।

अध्यक्ष ओलीद्वारा प्रस्तुत प्रतिवेदनले एमालेले राजनीतिक प्रतिस्पर्धीहरूप्रति स्पष्ट वर्गीय दृष्टिकोण अपनाएको देखिन्छ। कांग्रेसलाई उदार पुँजीवादी, माओवादीलाई वैचारिक रूपले विघटनशील, र रास्वपालाई क्षणिक प्रवृत्ति भन्दै एमालेले आफ्नो वैचारिक श्रेष्ठता पुनःस्थापित गर्ने प्रयास गरेको छ।

यो दस्तावेज पार्टीको आगामी रणनीति, सहकार्यको सम्भावना र प्रतिस्पर्धाको चरित्र निर्धारणमा महत्वपूर्ण आधार बन्ने देखिन्छ। महाधिवेशनको छलफलपछि यी विश्लेषणहरूमा थप स्पष्टता आउने अपेक्षा गर्न सकिन्छ।