राष्ट्र र नागरिक सेवामा निजी स्वार्थबाट माथि उठौँ : आईजीपी खापुङ
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्र कुबेर खापुङले राष्ट्र र नागरिक सेवामा निजी स्वार्थभन्दा माथि उठेर काम गर्न प्रहरीलाई निर्देशन दिएका छन्। प्रहरी संगठनको नेतृत्व सम्हालेपछि बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा उनले पहिलो पटक संगठनका नाममा निर्देशन सम्बोधन गरे।
गृह मन्त्रालयमा दर्ज्यानी चिह्न ग्रहण गरेपछि प्रहरी मुख्यालय पुगेका खापुङलाई भव्य स्वागत गरिएको थियो। त्यसपछि उनले उच्च प्रहरी अधिकारीदेखि जवानसम्मलाई सम्बोधन गरेका हुन्।
आईजीपी खापुङले दीर्घकालीन स्थायित्व, व्यावसायिकता र संस्थाको प्रतिष्ठा अभिवृद्धिका लागि नेतृत्वदेखि तल्लो तहसम्मका प्रहरी कर्मचारीमा सकारात्मक सोच, सक्रियता र जिम्मेवारीबोध आवश्यक भएको उल्लेख गरे। उनले संगठनको सुदृढीकरण सामूहिक भावना र भातृत्वभावका साथ मात्रै सम्भव हुने बताए।
उनले भने, “नेपाल प्रहरी अपराध नियन्त्रण, अनुसन्धान, शान्ति-सुरक्षा, ट्राफिक व्यवस्थापन, विपद् व्यवस्थापनलगायत कार्यमा सीमित स्रोत-साधनमा पनि अग्रपंक्तिमा खटिँदै आएको छ। आमनागरिकको ढुकढुकी बन्न सफल संगठनले अब पनि शिष्ट आचरण र व्यवहारका साथ जनअपेक्षा पूरा गर्नुपर्छ।”
सामाजिक सञ्जालमा देखिएको आवाञ्छित गतिविधि, साइबर अपराध, लागूऔषध कारोबार, मानव बेचबिखन, वित्तीय तथा संगठित अपराधहरूको प्रभावकारी अनुसन्धानका लागि प्रहरी अझ संवेदनशील, दक्ष र कानुनी रूपमा प्रभावशाली बन्नुपर्ने खापुङको भनाइ थियो। उनले यस्तो अपराध सामना गर्नका लागि दक्ष जनशक्ति, प्रविधि र तालिमलाई प्राथमिकता दिने बताए।
कार्यसम्पादनको मूल्याङ्कनमा व्यावसायिक दक्षता, निष्कपट सेवा भावना र संगठनप्रतिको वफादारिता मुख्य मापदण्ड हुने उल्लेख गर्दै खापुङले योग्यतामा आधारित वृत्तिविकास प्रणालीलाई अझ प्रभावकारी बनाइने बताए। निष्पक्ष प्रक्रिया र थप मापदण्ड तयार गरी अवसरको सुनिश्चितता गरिने उनले प्रस्ट पारे।
प्रहरी सेवा अनुशासन, कर्तव्यनिष्ठा र मर्यादामा आधारित भएको उल्लेख गर्दै खापुङले सबै प्रहरी कर्मचारीहरूलाई गैरव्यावसायिक गतिविधिबाट टाढा रहन चेतावनी दिए। उनले गैरजिम्मेवार गतिविधिमा संलग्न हुनेप्रति “शून्य सहनशीलता” नीति कडाइका साथ लागू गरिने चेतावनीसमेत दिए।
समारोहमा अतिरिक्त प्रहरी महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, प्रधान कार्यालयका वरिष्ठ प्रहरी अधिकारी, उपत्यका र सातवटै प्रदेशका प्रहरी प्रमुखहरू, प्रहरी तालिम केन्द्र तथा अन्य निकायका प्रमुखहरूको भर्चुअल तथा भौतिक उपस्थिति रहेको थियो।

