लिपुलेक- कालापानी हाम्रो हो भन्दा कुनै देशले चित्त दुखाउन आवश्यक छैनः गृहमन्त्री लेखक

वीरगन्ज । गृहमन्त्री रमेश लेखकले लिपुलेक–कालापानी हाम्रो हो भन्दा भारतले चित्त दुखाउनुपर्ने कुनै कारण नरहेको बताएका छन्। प्रेस युनियन पर्साद्वारा वीरगन्जमा सोमबार विहान आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री लेखकले यस्तो बताएका हुन् ।

‘हामीले हाम्रो भूमिलाई हाम्रो भूमि हो भनेर भन्दा कुनै देशसँग हाम्रो सम्बन्ध बिग्रनुपर्ने कारण छैन’, उनले भने, ‘मित्र राष्ट्र भारतले पनि चित्त दुखाउनुपर्ने कुरा छैन, किनभने त्यो भूमि हाम्रो हो। यसमा हामीहरू प्रष्ट छौँ।’

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अहिले लिपुलेक–कालापानी नेपालको भूमि रहेको भन्दै भारत र चीनबीच भएको सहमतिप्रति आपत्ति जनाएर ठीक काम गरेका उनको भनाइ छ।

भारत र चीनले नेपालको भूमिलाई लिएर गरेको सम्झौताप्रति प्रधानमन्त्री ओलीले जनाएको आपत्ति ठीक रहेको उनको तर्क छ ।

फरक प्रशंगमा गृहमन्त्री लेखकले अवैध कारोबारलाई सबैले मिलेर रोक्नुपर्ने जरुरी रहेको बताए।

‘यसरी सबै मिलेर काम गर्यो भने अवैध व्यापार, पैठारी, निकासी नियन्त्रण गर्न सकिन्छ’ उनले भने।

संविधान संशोधनबारे सञ्चारकर्मीले राखेको जिज्ञासामा गृहमन्त्री लेखकले संविधान संशोधन हुनेमा नेपाली कांग्रेस र एमाले ‘क्लियर’ रहेको दाबी गरे।

उनले भने, ‘नेपाली कांग्रेस र एमालेले गरेर मात्र हुँदैन, राष्ट्रिय सहमतिको वातावरण गरेर सहमतिका साथ संविधान संशोधन हुनेछ।’

वीरगन्जको हैजाको सवालमा गृहमन्त्री लेखकले सरकारले गर्ने सबै आवश्यक सहयोग गर्न तयार रहेको बताए।